अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

‘कोरोना भाइरस नेपाल आइपुगेको छैन’–स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:२३ मा प्रकाशित

सरकारले ‘कोरोना भाइरस’ नेपालमा नदेखिएको तर सतर्कता अपनाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार ‘कोरोना भाइरस’ देखा परेमा गर्नुपर्ने व्यवस्थापनका सम्बन्धमा भएको छलफलमा भाइरस हालसम्म नेपालमा नदेखिएको बताइएको हो ।

चीनबाट शुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । छलफलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँले ‘कारोना भाइरस’ भएको शंका लाग्ने वित्तीकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने व्यवस्थासमेत गर्न लागिएको बताउनुभयो । उहाँले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालमा उपचार गर्न सकिने जानकारी गराउनुभएको छ ।

उहाँले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसमा स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको उल्लेख गर्नुभयो । डा. पाण्डेले ‘कोरोना भाइरस’ लागेमा रुघा लाग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुनेलगायतका लक्षण देखापर्ने र मृत्युसमेत हुने बताउनुभयो । यसबाट सुसरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेकाले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू