अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

भ्रष्टाचार विरुद्ध विशेष कोर्सका लागि नेपाली अधिकारीको भारतमा प्रशिक्षण

बिआरटीनेपाल २०७६ पुष २१ गते ७:३५ मा प्रकाशित

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटी (GFSU) मा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा २०७६ पौष २१ गतेबाट ६ दिने प्रशिक्षण सुरु गरेका छन् । यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्दछ । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै २१ जना अधिकारीको पहिलो ब्याचले GFSUमा २०७६ मङ्सिर ३० गतेदेखि पौष ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिइसकेका छन् । संकायका अनुभवी सदस्यहरूबाट सञ्चालित सो प्रशिक्षण नेपाली अधिकारीले अत्यन्तै राम्रो र फलदायी रहेको पाए । नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाएको छ ।

नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएको यो एक विशेष कोर्स हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरूमा अङ्कुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ । मुख्यतः भ्रष्टाचारका कारकहरूको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरूमा यो कोर्स केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरूको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरू सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरूको पहिचान, निवारण एवम् कानुनी कारबाही गर्न यी अधिकारीलाई सक्षम बनाउनेछ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्स भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC)कार्यक्रम अन्तर्गत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू