अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

अमेरिकामा आम नरसंहार कहालीलाग्दो बन्दै, सन् २०१९ मा सबैभन्दा धेरै हत्याकाण्ड

बिआरटीनेपाल २०७६ पुष १३ गते ७:०० मा प्रकाशित

अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । सन् २०१९ मा मात्रै ४१ वटा आमहत्याका काण्ड भएको त्यसमा २११ जना मारिएको असोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहारका रुपमा लिने गरिन्छ । मे मा भर्जिनियामा भएको १२ जना मारिएको र अगष्टमा एल पासोमा २२ जना मारिएको हत्याकाण्ड सन् २०१९ को सबैभन्दा घातक हत्याकाण्ड मानिएको छ । ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको र क्यालिफोर्नियामा सबभन्दा धेरै (आठवटा) आम हत्याका घटना भएको अनुसन्धानकर्ताले जनाएका छन् ।

सन् १९७० सम्मको तथ्याङ्क हेर्दा सन् २०१९ भन्दा बढी हत्याकाण्ड अरु वर्ष नभएको एपीले जनाएको छ । दोश्रो धेरै आमहत्या भने सन् २००६ भएको र त्यो वर्ष ३८ वटा त्यस्ता काण्ड भएको जनाइएको छ । हत्याकाण्ड कम भए पनि मानिस मारिएको चाहिँ सन् २०१७ मा धेरै रहेको जनाइएको छ । त्यो वर्ष २२४ जना हत्याकाण्डमा मारिएका थिए । त्यो वर्ष लस भेगसमा गराइएको आम नरसंहारमा ५९ जना एकै पटक मारिएका थिए ।

पारिवारिक कलह, लागु औषध सम्बन्धी काण्ड वा गुन्डाहरूको समूह संलग्न हुने कयौं नरसंहारको घटना त अखबारहरूको शीर्ष समाचार नबन्ने उनीहरुले उल्लेख गरेका छन् । साना हतियारबाट ठूलो मानवीय क्षति भइरहेपनि अमेरिकामा बन्दुक राख्न पाउने अधिकार नियन्त्रणका लागि कानुन बनाउन सहमति बन्ने गरेको छैन । अमेरिकामा डेमोक्रेट नेताहरु बन्दुक नियन्त्रणका पक्षमा देखिए पनि रिपब्लिकनहरु यसका पक्षमा खुल्ने नगरेको बताइएको छ ।

प्रतिक्रिया