अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

प्रधानमन्त्री ओलीको गृह नगरमा पूर्व राजा ज्ञानेन्द्र शाहको एक महिने बसाइ

उमाकान्त खनाल २०७६ पुष २ गते २०:५१ मा प्रकाशित

पूर्व राजा ज्ञानेन्द्र शाह एक महिने बसाइका लागि बुधवार झापा पुगेका छन् । चन्द्रगढी विमानस्थल भद्रपुरमा अवतरण गरेका पूर्व राजा शाहलाई स्वागत गर्न सयौँको सङ्ख्यामा उनका समर्थक भेला भएका थिए ।

शाहका निकटवर्तीहरूका अनुसार उनी करिब एक महिना प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा रहेको आफ्नो स्वामित्वमा रहेको चिया बगानमा रहनेछन् । हिउँद सुरु भएपछि पूर्व राजा शाहले प्रायः हरेक वर्ष पूर्वी पहाडी जिल्लाहरूमा बिताउने गरेको बताइन्छ।

पूर्व राजा किन बर्सेनि झापा पुग्छन्?
गत वर्ष पनि यही बेला पूर्व राजा शाहले झापाको दमकलाई मुकाम बनाई पाँचथर र इलामको भ्रमण गरेको २०६२ सालमा उनको शासनकालमा सहायक मन्त्री रहेका टेकनारायण राजवंशीले बताए।

शाह वंशीय राजाहरू बर्सेनि दमकमा रहेको चिया बगानमा अवस्थित निवासमा आएर महिना दिन बिताउने परम्परा रहेको दमकका ‘राजावादी’ नेता राम थापाले बताए । उनले भने, “कुनै वर्ष छुट्यो होला तर प्रायः बर्सेनि शाह राजाहरूको जाडोको समयमा आएर दमकमा बस्ने परम्परा नै छ।” अर्का ‘राजावादी’ नेता तथा शाहको प्रत्यक्ष शासनकालमा अञ्चल प्रशासक भएका प्रजापति कोइरालाका अनुसार केही हदसम्म पूर्वराजको भ्रमण ‘राजनीतिक’ पनि हो।

कोइरालाले भने, “यहाँ आएका बेला आफ्ना समर्थकका कुरा सुन्ने र अब मैले के गर्नुपर्छ भनेर सोध्ने काम पनि हुन्छ। त्यो बेला हामी हाम्रा सुझाव राख्ने गर्छौँ।” पूर्व सहायक मन्त्री राजवंशी पूर्व राजा शाह झापा आएर बस्नुका मुख्य तीन कारण भएको मान्छन्।

१. देवस्थलको भ्रमण
गत वर्ष पूर्व राजा ज्ञानेन्द्र शाह झापा रहेका बेला इलाम, पाँचथर तथा झापाका देवस्थलको भ्रमण गरी मन्दिरहरूमा पूजा अर्चना गरेका थिए । देवस्थलहरूमा पूजा गर्न गएका बेला उनका समर्थकहरूले उनलाई घेरा हालेर पुष्प गुच्छा दिने गर्छन् । यस पटक शाहको भ्रमण तालिका सार्वजनिक भई नसकेकाले कुन-कुन स्थानको भ्रमण हुन्छ भनेर भन्न नसकिने शाहका निकट रहेका फणीराज पाठकले बताए । उनले भने, “पहिला दमकलाई केन्द्र बनाएर उहाँ बस्नुहुन्छ। त्यसपछि भ्रमण तालिका बन्छ।”

राजवंशीले यस पटक सङ्खुवासभा तथा धनकुटाका देवस्थलहरूको भ्रमण र त्यहाँका शुभचिन्तकहरूका कुरा सुन्ने योजना बनाउन आफूहरू प्रयास रत रहेको बताए।

२. समर्थकका सुझाव लिन
पूर्व राजा शाह आउँदा ‘जनता’सँग प्रत्यक्ष कुराकानी गरेर उनीहरूका सुझाव लिने गरेको राजवंशीले बताए । उनले शाहले आफ्ना कुरा भन्नुभन्दा पनि समर्थकका कुरा सुन्ने गरेको बताए । राजवंशीले भने, “जनतासँगको सम्बन्ध सधैँ यथावत् रहोस् वा बढोस् भन्ने कामनाले जनताको कुरा सुन्न रुचाउनुहुन्छ।” “देशको राजनीतिक वातावरणका बारेमा चासो राख्ने पनि गर्नुहुन्छ।”

३. काठमान्डुको जाडो छल्न
पूर्व राजा शाह जाडो याममा नै झापा आएर बस्ने गरेका छन् । गत वर्ष पनि फागुनमा एक महिना उनी झापा बसेका थिए। काठमान्डुमा जाडो बढेका कारण पूर्वी तराईलाई केन्द्र बनाएर पूर्वी नेपालको भ्रमण गर्ने उनको परम्परा रहेको उनका निकटवर्तीहरूले बताएका छन्। राजवंशी भन्छन्, “काठमाण्डूभन्दा यहाँ अलि न्यानो नै हुन्छ। त्यही भएर पनि जाडो छल्नका लागि उहाँको यता सवारी हुन्छ।” दमकका राप्रपाका नेता राम थापाका अनुसार आफ्नो सम्पत्तिको हेरचाह तथा रेखदेखका लागि पनि पूर्व राजा दमक आएर बस्ने गरेका हुन्। यो समाचार बिबिसी न्युज नेपालीले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू