अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

पोखरा प्रिमियर लिग (पीपीएल ) -पोखरा पल्टनको विजयी सुरुआत

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:२१ मा प्रकाशित

काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुआत गरेको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४.१ ओभरमै पूरा गर्ने क्रममा ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतकीय योगदान गरे । ४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।

यसबाहेक अर्का ओपनर आसिफ शेखले १४ रनको योगदान गरे । रवि इन्दर सिंह ३८ रनमा अविजित रहे । उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । बलिङमा काठमाडौंका सुशन भारीले १ विकेट लिएका थिए ।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेको थियो । सुरुआती ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा लडखडाएको काठमाडौंका लागि सुबोध भाटीले सम्मानित स्कोरमा पुर्याएका थिए । सातौं नम्बरमा ब्याटिङमा आएका सुबोधले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । ठूलो सट खेल्ने चक्करमा १७.३ ओभरमा उनी शरवजीत लड्डाको बलमा आरिफ शेखको हातबाट बाउन्ड्री क्षेत्रमा क्याचआउट भए ।

ओपनर जयकिसन कोल्सावाला ९, डेढ वर्षपछि घरेलु क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेल ६, गौरव तोमर १३, कप्तान ज्ञानेन्द्र मल्ल १, पवन सर्राफ ६ र पृथु बास्कोटाले ७ रनमात्र जोड्न सके । बसन्त रेग्मी ८ र शुसान भारी १० रनमा नटआउट रहे । बलिङतर्फ पोखराका रशिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए । शरवजीत लड्डा र प्रथमेस डाकेले १–१ विकेट झारे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू