अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’

अमरराज नहर्की २०७६ मंसिर २८ गते ६:४२ मा प्रकाशित

चुँदी रम्घा (तनहुँ), आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ शिखर कटेरीमा रामायण भवन निर्माण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण तीव्र पारी भवन निर्माण पूरा गरिएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । भवन निर्माण पूरा भए पनि भवनको भित्तामा रामायणमा भएका श्लोकहरू, रामायणसँग सम्बन्धित तस्बिर कुद्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । करिब तीन करोड रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाइएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले गोरखापत्रलाई जानकारी दिनुभयो ।

रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको वार्ताली सालको काठको प्रयोग गरी बनाइएको छ भने बाहिरी भागमा ढुङ्गा कुँदिएको छ । रामायण भवनको निर्माणले भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्ने कार्यलाई मद्दत पुग्ने अपेक्षा लिइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौली बताउनुहुन्छ । कलात्मक तरिकाबाट भवन निर्माण गरिएकाले पर्यटकको थप आर्कषण बढ्ने विश्वास नगरपालिकाले लिएको छ ।

दश रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायत बनाउने गुरुयोजना रहेको नगरप्रमुख गौलीले जानकारी दिनुभयो । यस गुरुयोजनाको लागत १६ करोडको रहेको छ ।

नगरप्रमुख गौलीका अनुसार पर्यटकलाई थप आकर्षित गर्न आदिकविको सय फिट अग्लो सालिक निर्माणलगायतको दीर्घकालीन गुरुयोजना निर्माण गरिएको छ । चुँदी रम्घाबेसीदेखि शिखर कटेरीसम्म पुग्ने कच्ची मोटर मार्ग भएकाले आवतजावत गर्न असुविधा भएकोले त्यस क्षेत्रको स्तरउन्नति हुन आवश्यक रहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट बताउनुहुन्छ ।

‘ भानुभक्तको सम्मानको लागि पनि बाटो पक्की हुनुपर्ने हो’ वडाध्यक्ष भाटले भन्नुभयो–‘बाटो राम्रो नहुँदा हिउँद याममा समेत बस सञ्चालनमा ल्याउन सकिँदैन, वर्षा यामको त कुरै छोडौँ ।’ निमार्ण पूरा भएकाले भवन चाँडै नै उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

नेपाली भाषा र साहित्यको उत्थान तथा विकासमा आदिकवि भानुभक्तको देन अविस्मरणीय छ । आजसम्म नेपालीले भगवान् बुद्ध पछि सबैभन्दा धेरै चिनेको नाम भानुभक्त हो । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त वि.स.१९७१ साल असार २९ गते चुँदी रम्घामा जन्मनुभएको हो ।

भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरी जस्ता काव्य कृतिले नेपाली जन जीवनमा नयाँ स्पन्दनको सञ्चार गरेको छ । सबै नेपालीलाई एक सूत्रमा बाँधेर नेपाल र नेपालीको परिचयमा भानुभक्तले गरेको प्रयास उल्लेखनीय मानिन्छ । गोरखापत्र अनलाइनले यो समाचारले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू