अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

दाङमा सरकारी गाडी दुरुपयोग, अध्यक्षमाथि उठ्यो प्रश्न

बिआरटीनेपाल २०७६ मंसिर २३ गते १४:५८ मा प्रकाशित

तुलसीपुर, २२ मङ्सिर । दाङ जिल्लाको बबई गाउँपालिकाको सरकारी गाडी जनप्रतिनिधिहरूले पिकनिक खान जाँदा दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ । जनताको खुन पसिनाबाट सङ्कलित करबाट खरिद गरिएको सरकारी गाडी सार्वजनिक बिदाको दिनमा समेत दुरुपयोग गरिएको हो । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरूले पिकनिक खान जाने साधनको रूपमा दुरुपयोग गरेको प्रमाण फेला परेको छ ।

शनिवार गाउँपालिकाको वडा नम्बर ५ स्थित पुरन्धारा झरनामा वनभोज खान गाउँपालिकाका अध्यक्ष लगायतका जन प्रतिनिधि सरकारी गाडी लिएर गएका थिए । पिकनिक मदिरा पार्टीसहितको रहेको खुल्न आएको छ । वनभोज सकेर फर्किँदै गरेको गाउँपालिकाका अध्यक्ष सवार गाडीले पैदल हिँडिरहेकी बबई गाउँपालिका वडा नम्बर ५ जलेकी निवासी देवी कला भण्डारीलाई ठक्कर दिएर घाइते समेत बनाएको छ । भण्डारीको दाहिने खुट्टामा गाडीको टायरले किचिदिएको छ ।

वनभोजपछि फर्किँदै गर्दा रेडियो हापुरेका स्टेसन म्यानेजर अर्जुन परियाले चलाएको गाडीले आफूलाई ठक्कर दिएको भण्डारीले निवेदनमा उल्लेख गरेकी छन् । भण्डारीले प्रहरीलाई दिएको निवेदनमा पनि गाडी चालकले अत्यधिक मदिरा सेवन गरेको हुँदा उनले गाडी चलाउन नसकेपछि सञ्चारकर्मी परियारले गाडी चलाएको कुरा उल्लेख गरिएको छ ।

भण्डारी घाइते भएपछि उनीसँगै वनभोजमा गएकाहरूले गाउँपालिकाको रा १ झ १५० नम्बरको सरकारी गाडी तोडफोड गरिदिएका छन् । शनिवार बेलुका ४ बजेतिर पैदल हिँडिरहेकी भण्डारीलाई गाडीले किचेपछि नजिकै पिकनिकमा खान गएकाहरूले गाडी तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिवार नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ता समेत छुट्टै पिकनिक खान गएको घटनाका एक प्रत्यक्षदर्शीले बताए । भण्डारी घाइते भएपछि नेपाली काँग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएको तथा केहीले गाडीमा ढुङ्गा समेत हानेको उनले बताए । नेपाली काँग्रेसका नेताहरूले भने आक्रोशित स्थानीयले मात्रै गाडी तोडफोड गरेको दाबी गरेका छन् ।

त्यही क्रममा मातेका चालकले जसोतसो गाडी भगाउन खोज्दा गाडी फेरि अनियन्त्रित भएर अर्का कल्भर्टमा ठोक्काएको छ । गाडीको अगाडि भागमा केही क्षति पुगेको अर्का एक प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि लगतै त्यहाँ दुई गाडी सुरक्षाकर्मी पुगेर गाउँपालिकाको सरकारी गाडीलाई नियन्त्रणमा लिएका थिए । मदिरा सेवन गरेका भनिएका चालक भने फरार भएको र खोजी भइरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय पञ्चकुलेवाट प्रहरी पुगेर गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए । उनले कोही कसैलाई नियन्त्रणमा राखेको बारे केही जानकारी दिएनन् । घटनाबारे आइतबार छलफल गरेर दोषीलाई कारबाही गर्ने डिएसपी शाहले व्यक्त गरेका छन् । घटनाबारे बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल भने सम्पर्कमा आउन चाहेनन् । घाइते महिला देवी कला भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू