अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

नर्सिङ पढ्न भर्ना भएका ३० छात्रालाई कलेजले यसरी ठग्यो (भिडियो)

दिनेश गौतम २०७६ कार्तिक २२ गते ९:३० मा प्रकाशित

काठमाडौँ : बिरामीको स्याहार गर्ने सपना देखेका नर्सिङ पढिरहेका यी छात्राको आँखामा अहिले पनि आँसु टलपलाएको छ।गाउँबाट ऋण सापटी गरेर नर्सिङ पढ्न राजधानी आएका उनीहरूको भविष्यमाथि निर्मम खेलबाड भएको छ।

परीक्षाको मुखमा जब पढिरहेको कलेजको सम्बन्धन नै खारेज भएको खुलासा भयो, उनीहरू छाँगाबाट खसेजस्तै भए। करिब तीस जना छात्राको नर्सिङ सपनामा खेलबाड गर्ने र ठग्ने संस्था भक्तपुर ठिमीको चक्रवर्ती नर्सिङ कलेज हो। जसले सवा तीन लाखको प्याकेजमा विद्यार्थी भर्ना गरेको थियो।

परीक्षा दिन नपाएका छात्रा यति बेला न्यायको खोजीमा भौँतारिएका छन्। उनीहरू आफै बिरामी पर्न थालेका छन्। उनीहरू भन्छन्, ‘हाम्रो भोक निद्रा सपना सबै लुट्यो यो कलेजले ।’

कक्षा र पढाइ छोडेर ती विद्यार्थी यति बेला कहिले अदालत, कहिले सीटीभीटी त कहिले सरकारी अड्डातिर धाइरहेका छन्। आफूहरू ठगिएको भन्दै उनीहरू मिडिया संस्थामा पुगेका छन्। उनीहरू भन्छन्, ‘हामी त ठगियौँ ठगियौँ। हामीजस्तै अरू सोझा साझा केटीहरू ठगिनु नपरोस्।’

चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङमा अध्ययनरत ३० विद्यार्थीको मनस्थिति नै तनाव युक्त छ। न्यायका लागि भोक भोकै उनीहरू कहिले सडकमा उत्रने र गुनासो पोख्नका लागि सञ्चारमाध्यमको दैलो धाउन थालेका छन्।

सम्बन्धन खारेज भएको कलेजले ठगी गरेको खुलेपछि उनीहरूको दिनचर्या नै फेरिएको छ। प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले अनुगमन नगरेको फाइदा उठाउँदै कलेजले ठगी गर्दा विद्यार्थी बिचल्लीमा परेका हुन्।

ओखलढुङ्गा, फूलबारीबाट नर्स बन्ने चाहना पूरा गर्न राजधानी आएकी कमला थापा निराश छन्। उनी भन्छिन्,‘भविष्य अन्योल भयो। शिक्षा बिग्रियो। अब स्वास्थ्य पनि बिग्रँदै छ। रुनु सिवाय उपाय छैन। ’

सीटीईभीटीले तोकेको मापदण्ड पुरा नगरेको चक्रवर्ती कलेजले सम्बन्धन खारेज भएको तथ्य लुकाएको विद्यार्थीले परीक्षा दिने बेला थाहा पाएका हुन्। गत साउन २६ गतेदेखि शुक्रवार परीक्षा दिने बेला उनीहरूको प्रवेश-पत्र नै आएन। विद्यार्थीले कलेजका प्रिन्सिपल गङ्गा चक्रवर्ती र अध्यक्ष निलकृष्ण ताम्राकारलाई प्रश्न गर्दा पन्छिएको विद्यार्थीको भनाइ छ। सीटीईभीटीमा गएर बुझ्दा सम्बन्धन खारेज भएको कलेजमा किन पढेको भन्दै प्रतिप्रश्न गर्दा छाँगाबाट खसेझैँ भएको थापाले बताइन्।

कलेजले मापदण्ड पुरा नगरेपछि तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २०७४ सालमा सम्बन्धन खारेज गरेको थियो। तर, कलेजले सम्बन्धन खारेज भए पनि शैक्षिक सत्र ०७४/०७५ मा ३० विद्यार्थीको भर्ना लियो।

सुर्खेतकी प्रेमिका शाही कलेजले ठगी गरेको र सीटीईभीटीले अनुगमन नगर्दा आफूहरूको भविष्य बिचल्लीमा परेको बताउँछिन्। ‘अदालतले दिएको स्टे अर्डर देखाउँदै कलेजले ठगी गरेको अहिले थाहा पाइयो,’शाहीले भनिन्।

विवादित भएको थाहा पाएपछि जिज्ञासा राख्दा कलेज प्रशासनले अदालतको स्टे अर्डर देखाएर ठगी गरेको थापाले बताइन्। उनले भनिन,‘विवाद सुल्झिएको छ। भर्ना भए हुन्छ भन्दै झुक्क्यायो। जिन्दगी डामाडोल बनायो। ’

विद्यार्थीको बिचल्ली
कलेजले ३० विद्यार्थीबाट जनही ३ लाख ११ हजार ४ सय रुपैयाँ भर्ना शुल्क लिएको विद्यार्थी बताउँछन्। कलेज वैधानिक भएको दाबी गर्दै उच्च अदालतको स्टे अर्डर देखाएर थामथुम पारेको पीडितको दाबी छ।

राजधानी बाहिरका अधिकांश विद्यार्थी भर्ना गरेको कलेजले अदालतले दिएको पुरानो स्टे अर्डर देखाएर ठगी गरेको हो। शैक्षिक सत्र ०७४/०७५ मा भर्ना भएका विद्यार्थीको पनि परीक्षा रोकिने भएपछि कलेजले सीटीईभीटीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। अदालतले मौलिक हकको व्याख्या गर्दै परीक्षा दिलाउन स्टे अर्डर जारी गरेको थियो। अदालतको स्टे अर्डरपछि विद्यार्थीले परीक्षा दिए।

सीटीईभीटीको मापदण्ड पुरा नगरेको कलेजले यहीँ शैली अपनायो। ०७५/०७६ सालमा भर्ना सूचना प्रकाशित गरेर ३० जना विद्यार्थीको भर्ना लियो। विद्यार्थीले साउन २६ मा परीक्षा दिन नपाएपछि कलेजले अदालतमा स्टे अर्डरको माग गर्दै निवेदन दायर गरेको थियो। सीटीईभीटीले सम्बन्धन खारेज गर्नुको कारणसहित सीटीईभीटीले प्रमाण पेस गरेपछि अदालतले कलेजको निवेदन खारेज गरेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको हो।

कलेजका अध्यक्ष निलकृष्ण ताम्राकार सीटीईभीटीमा रहेका पदाधिकारीको गलत निर्णयको सिकार विद्यार्थी हुन पुगेको बताउँछन्। उनी भन्छन्,‘सबै मापदण्ड पुरा गरेका छौँ। रजिष्ट्रेशन शुल्क लिने तर परीक्षा दिनबाट वञ्चित गराएर सीटीईभीटीले अन्याय गरेको छ। विद्यार्थीको भविष्यका जिम्मेवारी सीटीइभीटीले नै लिनुपर्छ। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू