अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

पुननिर्माणमा साउदी फण्डको नेपाललाई ३ अर्ब ४० करोड ऋण

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:३१ मा प्रकाशित

साउदी फण्ड फर डेभलप्मेन्टले भुकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुननिर्माणका लागि ११२.५ साउदी रियाल (आजको विनिमय दरअनुसार करिब ३ अर्ब ४० करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यस सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षरपछि अर्थसचिव डा.खनालले मानवीय उद्देश्यका लागि साउदी अरेबियाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोगले भुकम्प पीडितहरुको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा फण्डका उपाध्यक्ष अल्खुडायरीले भुकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुननिर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यात गर्ने मुलुकहरुको सदस्यका रुपमा पनि साउदीले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

अर्थमन्त्रालयमा वित्तीय सम्झौता हुनुअघि फण्डका उपाध्यक्ष डा. अल्खुडायरी नेतृत्वको प्रतिनिधिमण्डले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितका अधिकारीहरुसँग छलफल गरेको थियो। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणमा रहेको वित्तीय खाडलको पूर्ति गर्न साउदी फण्डले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू