अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ खुला

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:४० मा प्रकाशित

दशैंको लागि सार्वजनिक यातायातको टिकट बुकिङ आइतबारबाट खुलेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउन अन्य जिल्लामा बाहिरिने यात्रुका लागि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ थालेका हुन् ।

टिकट बुकिङ खोल्नुपूर्व यातायात व्यवस्था विभागले शुक्रबार गोंगबु बसपार्कमा केही सार्वजनिक यातायातका साधनको चेकजाँचसमेत गरेको छ । विभागका अनुसार दशैंमा चल्ने गाडीहरुको प्राविधिक अवस्था बुझ्न चेकजाँच गरिएको हो ।

आइतबारबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ गर्न सकिनेछ । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगाती र लगनखेलमा रहेका टिकट काउन्टरहरुबाट टिकट बुक गर्न सकिने व्यवस्था मिलाइएको छ । उपत्यका आसपासका जिल्लाहरुको लागि भने केही दिनपछि मात्रै टिकट बुकिङ खुलाउने तयारी यातायात व्यवसायीहरुले गरेका छन् ।

दशैंको लागि झण्डै ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । टिकट बुकिङ आइतबारबाट खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाटमात्रै सञ्चालनमा आउनेछ । चाडपर्वको बेला यात्रु ठगिने सम्भावना रहेकाले सहायता कक्ष सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू