अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन- २०१९ लन्डनमा भव्यताका साथ सम्पन्न

बिआरटीनेपाल २०७६ साउन २५ गते ९:४४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ३-५ अगस्ट २०१९ लन्डनमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरूबाट ७० जना भन्दा बढी नेपाली भाषी साहित्यकारहरू अनेसास च्याप्टरहरूको प्रतिनिधित्व गर्दै बेलायत पुगेका थिए । 

लन्डनको दक्षिण पूर्वी सहर वेलिंगमा भएको सम्मेलनको पूर्व सन्ध्यामा लन्डन आइपुगेका साहित्यकारहरूको स्वागतार्थ बेलायत च्याप्टरले रात्रिभोजको आयोजना गरेको थियो । वेलिंगको फाल्कनहुड कम्युनिटी सेन्टरमा अगस्ट ३ मा कार्यक्रमको उद्धाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले संयुक्त दीप प्रज्वलन गरेर गर्नु भएको थियो ।

कार्यक्रममा राजदूत दुर्गाबहादुर सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेको थियो भने अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दुर्गाबहादुर सुवेदीले सभ्यताको माटो बेलायतमा यति धेरै साहित्यकारहरूको जमघट हुनु नेपाली भाषा र साहित्यको क्षेत्रमा ठुलो फड्को भएको जानकारी गराए ।

विशिष्ट अतिथि डा. जगमान गुरुङले भाषा बाँचे संस्कृति र सभ्यता बाँच्ने भएकोले साहित्यको सिमाना र क्षेत्र नहुने बताउँदै नेपाली सभ्यता फस्टाएकोमा प्रवासमा नेपाली साहित्यको काम गर्ने अनेसास प्रशंसा पात्र रहेको बताएका थिए ।

सो कार्यक्रममा विशेष कारणले उपस्थित हुन नसक्नु भएका अनेसास विशिष्ट सम्मान २०१९ बाट सम्मानित वरिष्ठ साहित्यकार एवं सिक्किमका निवर्तमान मुख्यमन्त्री पवन चामलिङको शुभकामना पत्र अनेसास केन्द्रीय कार्यसमितिका उपाध्यक्ष सुनिल सङ्गमले र BOT अध्यक्ष गीता खत्रीको शुभकामना पत्र BOT उपाध्यक्ष पदम विश्वकर्माले वाचन गर्नु भएको थियो । 

उद्घाटन समारोहमा अनेसास बेलायतका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमलकुमार गुरुङले स्वागत मन्तव्यसहित कार्यक्रमको बारेमा जानकारी राखेका थिए ।अनेसास बिओटी उपाध्यक्ष पदम विश्वकर्मा, गोरखापत्र संस्थानका प्रधान सम्पादक श्री ओम श्रेष्ठ रोदन, नेपाली मानक भाषा अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा खगेन्द्र लुइँटेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अनेसासको परिचय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइलाले गर्नु भएको थियो ।

सो सम्मेलनमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, बिओटी प्रतिनिधि, संसारभरका च्याप्टर प्रतिनिधिहरूलगायत अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रा. मोहन सिटौला, बिओटीका सल्लाहकार प्रा. डा दुर्गा दाहाल, साहित्यकारहरू विश्वविमोहन श्रेष्ठ, गोवर्दन पूजा, कृष्ण बजगाईँ, डा. रूपक श्रेष्ठ, डा. कविता लामा, देश सुब्बा, प्रतीक ढकाल, सुनिल सङ्गम, लाल गोपाल सुवेदी, कृसु क्षेत्री, डा. शान्तिमाया गिरी, लतिका जोशी, मुक्ति बराल, डा. रेणुका थापा सोलु, डा. पुष्पा शर्मा, सुमन घिमिरे, रुद्र पौडेल, सन्ध्या पहाडी, बाबा बस्नेत, सानु घिमिरे, राजेन्द्र के. सी., सारा गुरुङ, मञ्जु भण्डारी, लाहान चेमजोङ, कमला रिसाल, सरिता अर्याल, गीता मैनाली, दुर्गा बाबा शाह, ललिता जोशी, रुद्र पौडेल, मिना सुब्बा, डी. बी. चन्द्र सुब्बा, प्रधुम्न श्रेष्ठ, रत्न लक्षम, कृष्णराज घतानी, भूमिका पौडेललगायत नेपाली समकालीन साहित्यमा कलम चलाउने सयौँ व्यक्तित्वहरूको अभूतपूर्व जमघट रहेको थियो । 

सम्मेलनमा केन्द्रीय कार्यसमितिबाट घोषणा भएको अनेसास वासुदेव मालती अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीका प्रतिनिधिलाई पुरस्कार स्थापन कर्ता डा. प्रा. दुर्गा दाहालमार्फत हस्तान्तरण गरिएको थियो ।

त्यसै गरी अनेसास केन्द्रले साहित्यमा पवन चाम्लिङ, कलामा मदनदास श्रेष्ठ, संस्कृतिमा डा. जगमान गुरुङलाई अनेसास विशिष्ट सम्मान प्रदान गरेको थियो । यसै गरी अनेसास विशिष्ट सम्मानबाट माइकल हाट, लोकनाथ तिवारी बाल साहित्य पुरस्कारबाट मुक्ति बराल, अनेसास नवरत्न सम्मानबाट मिना खड्का के. सी.लगायतकाहरु सम्मानित हुनु भयो । यसै गरी साहित्यकार डा. रूपक श्रेष्ठलगायत चौथो र पाँचौँ सम्मेलनका संयोजकहरू प्रकाश पौडेल माइला र गणेश घिमिरेलाई सम्मान गरिएको थियो । यसै अवसरमा सुप्रमा पुरस्कार गजलकार निप्रेस उप्रेतीलाई प्रदान गरिएको थियो ।

सम्मेलनमा पहिलो दिन केही प्रतिनिधि कविता वाचन तथा कृतिहरूको विमोचन गरिएको थियो । अनुवादक महेश पौडेलले अनुवाद गरेको तथा अनेसासले संयोजन गरेको बुकहिलले प्रकाशन गरेको नेपाली कथाहरूको अनुवाद सङ्ग्रह “सिल्भर क्यास्केड”, अन्तर्दृष्टि, प्रतिविम्ब (बेलायत), पर्थ स्मारिका, लाभेंदरका परागहरू (पोर्चुगल), यात्रा स्पर्शका अनुभूतिहरू (सुमलकुमार गुरुङ), रोटीको दन्त्य कथा (लाल गोपाल सुवेदी), जीवन बाँसुरी (मोहन सिटौला), खाप्परेका कथाहरू (रामप्रसाद घिमिरे), मनका तरङ्गहरू -संयुक्त गीति सङ्ग्रह, साँझकी शशी ( शशि थापा सुब्बा) लगायत दर्जन बढी कृतिहरू प्रमुख अतिथि तथा अन्य अतिथिहरूबाट विमोचित भए । बेलुका साहित्यकारहरूको सम्मानमा नेपाली राजदूतावासले रात्रि भोज तथा साहित्यिक गोष्ठी र सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

सम्मेलनको दोस्रो दिनमा डा. कविता लामाले “वर्तमान नेपाली साहित्यको अवस्था” विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जसमा डा. शान्तिमाया गिरीले टिप्पणी गर्नु भएको थियो । यसै गरी दोस्रो सत्रमा बेलायतमा बसेर नेपाली भाषा तथा साहित्यको गहन अध्ययन गरेका प्रा. माइकल हार्टको “नेपाली लिटरेचर पोस्ट अर्थवेक इन नेपाल” विषयक कार्यपत्र माथि सुमन घिमिरे वर्षाले टिप्पणी गर्नु भएको थियो । यसै गरी अनेसासका उपाध्यक्ष भीमसेन सापकोटाले सकारात्मक सोचबारे प्रवचन दिनु भएको थियो । 

कार्यक्रमको अन्तिम सत्रमा डा. रूपक श्रेष्ठले सञ्चालन गर्नु भएको”डायस्पोरा र नेपाली साहित्य” विषयमा प्यानल डिस्कसनमा अनेसास अध्यक्ष राधेश्याम लेकाली, प्रा. डा. खगेन्द्र लुइटेल, पदम विश्वकर्मा, विश्वविमोहन श्रेष्ठ, श्रीॐ श्रेष्ठ रोदन, प्रकाश पौडेल माइला, भीमसेन सापकोटा, सुनिल सङ्गम, रुद्र पौडेल, प्रतीक ढकाल, लतिका जोशी, प्रधुम्न श्रेष्ठ, गोवर्धन पूजा, राजकुमार पुडासैनी, बाइ बी लेन गुरुङ, सानु घिमिरे, डा. रेणु थापा, दुर्गा शाह बाबा, विजय घितान, सरिता अर्याललगायतले भाग लिनु भएको थियो ।

कार्यक्रम संयोजक सुमलकुमार गुरुङले सबैको साथ र सहयोगले सम्मेलन सम्पन्न भएको र यस साहित्यिक कुम्भ मेलामा संलग्न सबै साहित्यिक मनहरूप्रति आभारी रहॆको बताउँदै धन्यवाद ज्ञापन गरेका थिए भने अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले आफू अध्यक्ष रहॆको घोषणा पत्र समूहको तर्फबाट पाँच बुन्दे लन्डन घोषणा पत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रमको अन्त्यमा अनेसासका अध्यक्ष राधेश्याम लेकालीले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधैँ क्रियाशील रहने र आगामी कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । सम्मेलनको तेस्रो तथा अन्तिम दिन महान् साहित्यकार विलियम शेक्सपियरको जन्म घर स्टार्ट फोर्ड अपअन एभनको साहित्यिक यात्रामा पाहुनासहित ठुलो मात्रामा साहित्यकारहरूको सहभागिता थियो । शेक्सपियरको जन्मघरमा कविता गोष्ठी गरिएको थियो भने यात्रामा लगभग पाँच घण्टासम्म रचना वाचनको कार्यक्रम भएको थियो । 

कार्यक्रमलाई अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे, केन्द्रीय सदस्य लारा राई, केन्द्रीय सदस्य सानु घिमिरे तथा आजीवन सदस्य शशी थापा सुब्बाले सञ्चालन गरेका थिए । कार्यक्रममा डा. देवीप्रसाद सुवेदी, नगेन्द्र न्यौपाने, भरत, विमल गिरी, दीपेन्द्र के. सी. दुर्गा रिजाल, राजेश के. सी., कल्पना खरेल, नीरु न्यौपाने, भारद्वाज, मदन पौडेल, लय प्रसाईँ, मञ्जु भण्डारी, राधा, विजय गुरुङ, सङ्गीता श्रेष्ठ, हरिमाया अधिकारी, मुकेश राई, सुस्मिता राई, गजेन कटुवाल आदिको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू