अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

लुम्बिनी गुरुयोजनाको काम साढे दुई बर्षभित्र पूरा गर्न प्रधानमन्त्री ओलीको कोषलाई निर्देशन

बिआरटीनेपाल २०७६ साउन १७ गते ९:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई बर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न निर्देशन दिनुभएको हो ।

कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण सिर्जना गर्न र सो क्षेत्रमा विद्युतीय मेट्रोलाइन निर्माणको तयारी गर्न पनि कोषलाई निर्देश गर्नुभएको छ ।

भेटपछि उपाध्यक्ष त्रिपाठीले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययनको केन्द्रका रुपमा विकसित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिई आगामी बुद्धजयन्ती अन्तर्राष्ट्रिय सम्मेलनसहित मनाउने निर्णय भएको जानकारी दिनुभयो । लुम्बिनी गुरुयोजना जापानी विज्ञ किन्जोले तयार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू