अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

गण्डकी प्रदेशमा १ बर्षमा ३ लाख पर्यटक

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:२८ मा प्रकाशित

गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/ ७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क प्राप्त भएको जनाएको छ । यसअघि नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसम्बद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान लगाउँदै आएका थिए ।

प्रदेश सरकार गठनसँगै अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट तथ्याङ्क सङ्कलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिनुभयो । तथ्याङ्कअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय ७५ पर्यटक आएका छन् । सबैभन्दा कम असार महिनामा १२ हजार ६ सय २ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन् । गत साउनदेखि असारसम्मको तथ्याङकअनुसार हवाईमार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या एक लाख २० हजार ९ सय ३८ रहेको सुचना अधिकृत परियारले बताउनुभयो ।

त्यसैगरी एक लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्याङ्क रहेको छ । स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्याङ्क संकलन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू