अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

राजेश पायललाई एक लाख नगद सहित दिक्तेलमा सम्मान

रामधन राई २०७६ असार १८ गते ८:३४ मा प्रकाशित

खोटाङ, राई ईज किङको उपाधि प्राप्त गायक राजेश पायल राईलाई एक लाख रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको छ । खोटाङमा जन्मी भर्सस्टाईल गायकका रूपमा स्थापित राईलाई गृह नगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश–दुनियाँमा चिनाएको भन्दै राईलाई उक्त राशिको ‘नगर पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । बुधवार आयोजना गरिएको दोस्रो नगर दिवसमा राईलाई पुरस्कार हस्तान्तरण गर्ने तयारी गरिएको थियो । नगर दिवसको अवसरमा विशेष कारण राजेश पायल उपस्थित हुन नसकेपछि उक्त पुरस्कार हस्तान्तरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

पुरस्कार छनौट समितिले निर्णय गरे बमोजिमको उक्त पुरस्कार नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरी चाँडै राईलाई हस्तान्तरण गरिने मेयर दीपनारायण रिजालले बताउनुभयो । राजेश पायल राई नगरपालिकाको १४ नम्बर वडामा पर्ने बुइपामा जन्मनुभएको हो ।

नगर दिवसको अवसरमा अन्य विविध विधाका उत्कृष्ट संस्था तथा व्यक्तिलाई पनि पुरस्कृत गरिएको छ । नगरपालिकाले नगरभित्रका उत्कृष्ट कर्मचारी मोहनप्रसाद आचार्यलाई नगद ५० हजार रुपैयाँ , उत्कृष्ट विद्यालयको रूपमा पञ्च माविलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । यस्तै, विद्यालय सुधारसम्बन्धी उत्कृष्ट शिक्षकका रूपमा काम गरेको भन्दै सरस्वती माविका प्रधानाध्यापक ध्यानबहादुर राईलाई ५० हजार, उत्कृष्ट उद्यमीका रूपमा पाउरोटी उद्योगी अशोक राईलाई २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, टोल सुधार सम्बन्धी उत्कृष्ट कार्य गर्ने दिक्तेलबजारस्थित बैंकचोक टोल सुधार समिति र उपभोक्ता समितिका रूपमा उत्कृष्ट कार्य गरेको भन्दै साप्सुधाप पर्यटन विकास उपभोक्ता समितिलाई नगद २५–२५ हजार रुपैंयाका साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । नगरपालिकाले केही दिन नतिजा आएको एसईई तथा ८ कक्षाका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र तथा छात्रालाई जनहरू पाँच–पाँच हजारका दरले पुरस्कार प्रदान गरेको छ ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको कार्यक्रममा पूर्व सांसदद्वय अस्मिता कार्की, पाँच कर्ण (पिके)राई लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ लगायतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय लगायतका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । हाम्रो खोटाङबाट

प्रतिक्रिया