अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

पोखरा महानगरपालिकाको आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक

बिआरटीनेपाल २०७६ असार ८ गते ९:३० मा प्रकाशित

पोखरा महानगरपालिकाले पूर्वाधार निर्माणलाई विशेष जोड दिदै २०७६/ ०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले आइतबार आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

पोखरा महानगरपालिकाको पाँचौ नगरसभामा आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर जिसीले पूर्वाधार निर्माण कार्यक्रममा चालू आर्थिक वर्षमा २ अर्ब ४३ करोड लागतमा १ सय ४७ वटा योजनाहरुको टेन्डर प्रक्रिया पूरा गरी काम अगाडि बढाइएको बताउनुभयो । चालू आर्थिक वर्षमा १५ किमी बाटो ढलान, १० किमी सडक कालोपत्रे, २४ किमी सडक मर्मत, ३७ किमी सडक स्तरोन्नति, साढे ४ किमी ढल तथा नाली निर्माण र ५६ किमी खानेपानी पाइपलाइन विस्तार गरिएको मेयर जिसीको भनाई छ ।

क्षेत्रफलको हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगर पोखराले सडक पूर्वाधारको विकासलाई महानगरपालिकाले प्राथमिकतामा राखेको छ । महानगरका सबै ३३ वटै वडाहरुलाई एक आपसमा स्तरीय सडक सञ्जालबाट जोडी विकटलाई निकटमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको जिसीले बताउनुभयो । चालू आर्थिक वर्षमा महानगरपालिकाको कार्यालयबाट सबै वडाको केन्द्रसम्म जोड्ने २७ वटा पहुँच मार्ग अर्थात कनेक्टिङ सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी १ अर्ब १६ करोड बराबरको टेन्डर भई काम अगाडि बढेको उहाको भनाई छ ।

पोखरा सभागृह भवनको डिजाइन कार्य अन्तिम चरणमा पुगेकोले उक्त डिजाइनलाइ अन्तिम रुप दिइ ठेक्का व्यवस्थापन गरी आर्थिक वर्ष ०७७/ ०७८ मा सम्पन्न गर्ने लक्ष्य लिएको मेयर जिसीले बताउनुभयो । महानगरपालिकाले बेगनास, भरतपोखरी, कृष्ती, निर्मलपोखरी, माझठाना, लगायतका आयोजनामा साझेदारी तथा अन्य साना खानेपानी आयोजनामा १२ करोड लगानी गरी कार्य अगाडि बढाएको छ ।

स्मार्ट सिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा इन्टरनेट इन्ट्रानेट प्रणाली जडान गरी महानगर र वडाको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै लगिएको र महाशाखारशाखाहरुमा नेटवर्किङ गरी ई–गभर्नेस मा जोड दिइएको छ । पोखराका मुख्य चोकहरुमा सिसिटिभी क्यामरा जडान गरिनुका साथै मुख्य बजार क्षेत्रमा सिसिटिभी जडानको लागि सर्भे सम्पन्न गरिएको निती तथा कार्यक्रममा उल्लेख छ ।

सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा आकाशे पुल निर्माण सम्पन्न गरिनुको साथै ओभरहेड र सबवे संरचना निर्माणको लागि अध्ययन, डिजाइनको कार्य अगाडि बढाइने मेयर जिसीले बताउनुभयो । सहरका मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक र सिर्जनाचोकमा ट्राफिक लाइट राखिने छ । पोखरा सभागृहको मर्मत सम्भार कार्यलाई तत्काल अगाडि बढाउने तथा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणको लागि सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाइने निती तथा कार्यक्रममा उल्लेख छ ।

लेखनाथको लामे आहालमा निर्माण गरिने आधुनिक बसपार्कको डिपिआर तयार भइसकेकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गरी यस आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने भएको छ भने पृथ्वीचोक बसपार्क निर्माणका लागि समितिबाट प्राप्त प्रतिवेदनका आधारमा प्रक्रिया अगाडि वढाइने छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित तल्लोपुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि आवश्यक पहल गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू