अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

एटिएम मेसिनमा नेपाली भाषाको अनिवार्य प्रयोग गर्न राष्ट्र बैंकको निर्देशन

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:३५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा अनिवार्य नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत् यस्तो निर्देशन दिएको हो । बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटिएम मेसिनमा अनिवार्य रूपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नेपाली भाषा प्रयोग गरी एटिएम चलाउन सकिने व्यवस्था गरी सो को जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ अनुसार कारबाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याएका हुन् ।

बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रूपमा एटिएम कार्ड प्रयोग गर्छन् । कूल ५९ लाख ६० हजारले एटिएम कार्ड लिएका छन् । सरकारले नयाँ वर्षको सुरूवात सँगै सुरू गरेको ‘खाता खोलौं’ अभियानले पनि एटिएम कार्ड लिनेको संख्यामा वृद्धि हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू