अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको भारतीय ब्यवसायीलाई आग्रह

बिआरटीनेपाल २०७६ जेठ २ गते ८:२१ मा प्रकाशित

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को काठमाडौंमा उद्घाटन गर्दै खतिवडाले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको जानकारी गराउनुभयो ।

नेपाल अहिले विदेशी प्रविधि र लगानीलाई भित्र्याएर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नेक्रममा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनसमेत कार्यान्वयनमा आइसकेको बताउनुभयो । संसारभर नै लगानीका लागि प्रसिद्ध भइसकेको फ्रेन्चाइज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीको जोड थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको बताउनुभयो ।

नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलोमात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा. खतिवडाले हरेक वर्ष पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएकाले थप लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सम्मेलनमा नेपाल र भारतका व्यवसायीबीच छलफल हुने भएकाले लगानीका थप अवसरको खोजीका लागिसमेत प्रभावकारी हुने अपेक्षा गर्नुभयो । नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न उहाँले ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत लगानी विस्तार गर्न सकिने विविध क्षेत्र रहेको र युवा जमात त्यसमा आकर्षित हुन सक्ने बताउनुभयो । नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन पनि व्यापारिक सम्बन्धलाई नयाँ आधारमा विस्तार गर्नुपर्ने उहाँको जोड थियो ।

बुधबारदेखि शुरू भएको उक्त मेलामा व्यापारिक सोच र अवसरका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ विभिन्न ४७ कक्ष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू