अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

पत्रकार धमलाद्वारा दिव्या राईको ‘परदेशी’ एलबम विमोचन

बिक्री भएको ५० प्रतिशत मृगौला पीडितहरूलाई दिने घोषणा

बिआरटीनेपाल २०७५ चैत १ गते ११:३४ मा प्रकाशित

बिक्री भएको ५० प्रतिशत मृगौला पीडितहरूलाई दिने घोषणा
काठमाडौँ, १ चैत्र । दिव्या राईको नयाँ एलबम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एलबम नेपाली साङ्गीतिक आकाशमा बिलकुलै नयाँ प्रस्तुति रहेको राईको भनाई छ ।  

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बिच क्लबका सभापति ऋषि धमलाले उक्त एलबमको विमोचन गरेका हुन् । एलबम विदेशिएका नेपालीहरूको पीडा र आफ्नो देशप्रतिको मायामा ओतप्रोत रहेको रचनाकार राईको भनाई छ ।

‘विदेश जाने रहर कसलाई हुन्छ र? बाध्यताले हो देश छोड्ने’ बोलको उक्त गीतमा राईको एकल शब्द रचना रहेको छ । चन्द्रकान्त पौडेलको स्वर तथा सङ्गीत रहेको यो गीतलाई विकास दाहालले सम्पादन गरेका छन् । कल्याणी ठकुरी, शिल्पा बिमली, चन्द्रकान्त पौडेल र वैष्णवी पौडेलको जोडदार अभिनय रहेको म्युजिक भिडियोलाई चन्दु गोर्खालीले एरेन्ज गरेका हुन ।

प्रकाश धितालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले निकै नै सुन्दर तरिकाले क्यामरामा कैद गरेका छन् । गीतको बिक्री–वितरणबाट सङ्कलन हुने ५० प्रतिशत रकम मृगौला रोगबाट पीडितहरूको सेवामा समर्पित गर्ने कार्यक्रममा घोषणा गरिएको थियो । 

लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार धमलाले गीतले बिदेशिएका नेपालीहरूको पीडा मात्र नबोकेर नेपाल र आफ्नो जन्मभूमिप्रतिको मायालाई पनि दर्साएको स्पष्ट पारे । उनले भने,‘गीत–सङ्गीत आजको दिनमा अक्सिजन हो । यसले मानव जीवनमा अक्सिजनकोजस्तै काम गरिरहेको छ।’

गीत–सङ्गीत सबैको रगतमा बगिरहेको स्मरण गराउँदै उनले विदेसिने नेपालीहरूले बेला–बेलामा पीडा बिसाउनको लागि सङ्गीतको माध्यमबाट आफ्ना भावनाहरूलाई प्रस्तुत गर्ने गरेको पनि स्पष्ट पारे ।

परदेशिएका लाखौँ नेपालीको पीडामा उक्त एलबम समाहित गीतले मलम बनेर काम गर्ने पनि धमलाको विश्वास छ । उनले थपे,‘यो गीतले रकम अभावमा उपचार गर्न नपाई रहेका मृगौला पीडितहरूको उपचारमा पनि सहयोग गर्दा गीतले सफलता पाउनेमा म पूर्ण रूपमा आशावादी छु ।’

विगत ६ वर्षदेखि प्रवासमा रहेर नेपाली गीत–सङ्गीतको जगेर्नामा लागेकी दिव्या राईले जहाँ पुगेपनि आफ्नो देशको मायाले नछोड्ने सुनाइन् । सपनामा पनि आफ्नै गाउँ–आँगनमा खेलिरहेको देख्ने नेपालीहरूको लागि बिर्सिदिनु रहर नभई बाध्यता भएको पनि बताइन् ।

कार्यक्रममा गायक तथा सङ्गीतकार चन्द्रकान्त पौडेलले सङ्गीतको उद्गमस्थल नै नेपाल रहेको बताए । उनले आज विमोचन गरिएको उक्त गीतको माध्यमबाट परदेशीहरूको पीडालाई देखाउन खोजिएको सुनाए ।

उनले ऋषि धमला आफ्नो आदर्श पत्रकार भएको टिप्पणी गरे । उनले भने,‘मैले त दाइलाई हेरेर पत्रकारिता सिकेको हुँ, आज दाई सँगै एउटै क्षेत्रमा काम गर्न पाएको छु, यो मेरो लागि खुसीको कुरा हो ।’ उनले गीतकी रचायिता राईले पनि पत्रकार धमलाकै हातबाट उक्त गीत विमोचन गर्न चाहेको सुनाए ।

लोकार्पण गरिएको गीतको म्युजिक–भिडियो चन्द्रकान्त पौडेलको युट्युब–च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया