अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

राष्ट्रपतिको सम्मानमा रात्रीभोज

बिआरटीनेपाल २०७५ फागुन २९ गते २३:२९ मा प्रकाशित

न्यु योर्क, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग र नेपाली राजदूतावासले अमेरिका भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा रात्रि भोजको आयोजना गरेको छ । 

युएन प्लाजामा आयोजित रात्रि भोजमा अमेरिकामा बसोबास गरिरहेका नेपाली समुदायका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए । राष्ट्रपति भण्डारी राष्ट्रसंघले आयोजना गर्ने कमिसन अन स्टाटस अफ वुमन (सिएसडब्लु) मा सहभागी हुन आएकी हुन् । उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ‘हाउ वुमन लिडर्स चेन्ज द वल्र्ड’ भन्ने विषयमा धारणा राखेकी थिइन् ।

कार्यक्रममा राजदूत अर्जुन कार्कीले राष्ट्रसंघले आयोजना गरेको उक्त कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नु महिला अधिकारका सवालमा ठुलो उपलब्धि भएको बताए । ‘महिला आवाज बुलन्द बनाउन राष्ट्रपतिज्यूले खेल्नु भएको भूमिका सदा सम्झिइने छ,’ उनले भने । 

स्थायी प्रतिनिधि अमृत राईले महिला मुद्दा उठानका लागि सिएसडब्ल्यू ग्लोबल प्ल्याटफर्म भएको बताए । ‘राष्ट्रपतिज्यूको सिएसडब्ल्यूमा सहभागिता महिला अधिकारमा सक्रियता र निरन्तर एक्वेबद्धताको प्रतीक हो,’ उनले भने, ‘महिला विभेद प्राकृतिक परिस्थिति होइन, सामाजिक निर्माण हो ।’

सिएसडब्ल्युमा सहभागी हुन भण्डारीसँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा लगायतका उच्च पदस्थ अधिकारी अमेरिका भ्रमणमा छन् ।  

प्रतिक्रिया