अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

काठमाडौँ महानगरले चार वटा ब्रमुर नेपाल भित्र्यायो, चैतबाट बाटो सफा गर्ने

ईश्वरराज ढकाल २०७५ फागुन २७ गते २२:११ मा प्रकाशित

काठमाडौँ । आउँदो चैतदेखि राजधानीको सडकको धुलो ब्रुमरले सफा गर्ने भएको छ । काठमाडौँ महानगरले चार वटा ब्रमुर नेपाल भित्र्याएपछि चैत देखि ती ब्रुमर प्रयोग गरी सडक सफा गरिने भएको छ । धुलैधुलोले आक्रान्त काठमाडौका सडकमा ब्रुमर सञ्चालन गरेपछि तुलनात्मक रूपमा सडक सफा हुने कामपाले दाबी गरेको छ । इटालीमा निर्मित ती ब्रुमर वल्ड वाइड ट्रेडिङ प्रालिले नेपाल भित्र्याएको हो ।

महानगरले चार महिना अघि टेण्डर आव्हान गर्दा सो कम्पनी छनौटमा परेको थियो । करिब ११ करोड रुपियाँ बराबरको पाच मध्य चार वटा नेपाल भित्रिएको कामपा वातावरण विभागका निर्देशक पुरुषोत्तम शाक्यले जानकारी दिनुभयो ।
पाच मध्य एउटा केही दिनमै नेपाल भित्रने उहाँले दाबी गर्नुभयो ।

नेपाल भित्रिएका चार ब्रुमर मिनभवन स्थित हेवी इक्युमेन्ट कार्यालयमा राखिएको छ । १ सय ७ किलोवाट क्षमता भएको ती ब्रुमर स्वचालित हुन । ब्रमुरले धुलो र माटो सफा गर्नुका साथै पानीले सडक सफा गर्न सक्छ । ब्रुमरमा ५ सय लिटर क्षमताको ट्याङकी जडित छ । ११ टनको ती बु्रमर काठमाडौका अधिकांश बाटोमा प्रयोग गर्न योग्य रहेको कामपाले जनाएको छ ।

सम्झौता अनुसार वल्ड वाइड ट्रेडिङ प्रालिले ३ वर्ष सम्म चालक सहित सञ्चालन र मर्मत गर्ने उल्लेख गरिएको छ । करिब दुई महिना अघि बु्रमरको स्पेसिफिकेशनको विषयमा अध्ययन गर्न दुई वडा अध्यक्ष, निर्देशक शाक्य सहित कामपाको टोली इटाली पुगेको थियो । हाल नेपाल आएका चार बु्रमरका लागि कम्पनीले नै चालकको व्यवस्था गरेपछि ब्रुमर सञ्चालनमा समस्या नहुने कामपाका मेयर विद्या सुन्दर शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो–चालकको व्यवस्था भैसकेको छ । केही सामाग्री फिट गर्नासाथ चैतको पहिलो सातादेखि सडक सफा गर्न सुरु गर्ने छौ । हाल महानगरपालिकासँग चार वटा ब्रुमर छन् । तर ती सबै ब्रुमर कामै नलाग्ने गरी थन्किएको छ । २०६३ सालमा चीन सरकारको अनुदानमा प्राप्त तीन र अठारांै सार्क सम्मेलनमा खरिद गरिएको एक गरी चार ब्रुमर थिए । भएका ब्रुमर कामै नलाग्ने भएपछि कामपाले नयाँ ब्रुमर खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । कामपाले टेण्डर आव्हान गर्दा चार कम्पनी छनौटमा परेका थिए । तर बिड गर्दा वल्ड वाइड ट्रेडिङ प्रालिले टेण्डर पारेको थियो ।

कामपा प्रमुख मेयरले ती ब्रुमर अति व्यस्त हुने बसपार्क, पर्यटकीय क्षेत्र ठमेल, पशुपति, बौद्ध, स्वयम्भू, लगायतका स्थानको सडक सफा गर्न प्रयोग गरिने जानकारी दिनुभयो । ती बाहेक अति महत्त्वपूर्ण मानिएको कलङ्की देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, थापाथली देखि महाराजगन्ज , रत्नपार्क देखि मैतीदेवी हुँदै सिनामंगल ,महाराजगन्ज, बालुवाटार, सिंहदरबार परिसर लगायतका रुटमा सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

ब्रुमर नेपाल भित्रिए लगत्तै सोमबारदेखि कामपा वातावरण व्यवस्थापन विभागले रुट तय गर्न सुरु गरिएको छ । नियमित बाहेक विशेष कार्यक्रम आयोजना हुने स्थानमा समेत ती ब्रुमर प्रयोग गरिने भएको छ । 

न्युजअफ नेपालबाट

सम्बन्धित सामग्रीहरू