अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

बिग्रिएर फालिएका इलेक्ट्रोनिक सामानसँगै फालिन्छ सुन पनि, यस्ता सामानबाटै बनाइँदैछ ‘गोल्ड मेडल’

बिआरटीनेपाल २०७५ फागुन २० गते २:१८ मा प्रकाशित

प्रायः हामी सबैको घरमा इलेक्ट्रोनिक सामान हुन्छ । टेलिभिजन, ल्यापटप, मोबाइल, कम्प्युटरजस्ता इलेक्ट्रोनिक सामान बिग्रिएर मर्मत नहुने अवस्थामा पुगेपछि फाल्नुको विकल्प रहँदैन । कसैले त्यस्ता सामान ‘कवाड संकलक’ लाई बेच्छन् भने कसैले त्यसै फाल्ने गरेको पाइन्छ । कवाड संकलकले सामान्य मूल्यमा त्यस्ता सामान किनेर लान्छन् । तर हामीमध्ये धेरैलाई ती सामानमा सुनको मात्रा हुन्छ भन्ने पत्तो हुँदैन ।

समाचार एजेन्सीहरुका अनुसार एउटा सामान्य खानीबाट सुन निकाल्नुभन्दा इलेक्ट्रोनिक सामानबाट सुन निकाल्नु सहज र बढी परिणाममुखी हुन्छ । कुनै खानीबाट तीनदेखि चार ग्राम सुन निकाल्नका लागि करिब एक टन खनिज केलाउन र प्रशोधन गर्न आवश्यक हुन्छ । तर एक टन इलेक्ट्रोनिक सामानबाट करिब ३५० ग्राम सुन निस्कन्छ ।

जापानमा सन् २०२० मा आयोजना हुन गइरहेको टोकियो ओलम्पिकका लागि पुराना तथा बेकामे भइसकेका इलेक्ट्रोनिक सामानबाटै निकालिएको सुनबाट ‘गोल्ड मेडल’ तयार पारिँदैछ । टोकियो ओलम्पिक आयोजक समितिका अनुसार अहिलेसम्म करिब १७ किलो सुन र एक हजार ८०० किलो चाँदी त्यस्ता सामानबाट निकालिएको छ ।

ओलम्पिक आयोजक समितिले जापानी नागरिकलाई पुराना तथा काम नलाग्ने अवस्थामा रहेका इलेक्ट्रोनिक सामान दान गर्न अपिल गरेको छ ।

संयुक्त राष्ट्रसंघको एक तथ्यांकअनुसार सन् २०१६ सम्ममा विश्वमा करिब साढे चार करोड टन इलेक्ट्रोनिक सामान फोहोरका रुपमा जम्मा भइसकेको छ । यो फोहोर प्रत्येक वर्ष २–३ प्रतिशतले बढ्दै गएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू