अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

रोकिएनन् दिनेश सुनार, गिनिज बुकमा ह्याट्रिक बनाउने यस्तो छ तयारी

बिआरटीनेपाल २०७५ फागुन १७ गते २३:४१ मा प्रकाशित

काठमाडौँ,  दुई पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइसकेका सशस्त्र प्रहरीमा कार्यरत जवान दिनेश पार्करले तेस्रो अर्थात् ह्याट्रिक रेडर्कको तयारी गरेका छन् । यो समाचार दैनिक नेपालमा प्रकाशित भएको छ ।

आउने साता उनी अर्को रेकर्ड तोड्नका लागि उद्धत छन् । जिम्न्यास्टिक खेलाडी दिनेशको अर्को परिचय ‘पार्कर दिनेश’ पनि हो । उनी नेपालमा मात्र होइन भारत, जापानलगायत विश्वभरका मिडियामा छाइसकेका छन् । पार्कर अर्थात् जिम्न्यास्टिक जस्तै खेल हो । उनका दुवै रेकर्ड सोही विधामा गिनिज बुकमा कायम छन् ।

पूर्वी पहाडी जिल्ला खोटाङ राजापानीका विर्खबहादुर सुनार र रिता सुनार छोरा दिनेशले जिम्न्यास्टिक खेलमा रुचि त्यति बेला राखे जति बेला उनी गाउँमा बाख्रा चराउन जाँदा बगरमा उल्टी जम्प हान्थे । सशस्त्र प्रहरीका तत्कालीन प्रमुख सनत बस्नेतले उठाएर हल चोक पुराएपछि दिनेश जागिरे भए ।

उनी परिवारको मात्र होइन, गाउँ र देशको आशाका केन्द्रको पात्र बनिदिए । उनको कला हेर्दा सानो छ तर असामान्य छ । पहाडका गोरेटो र बगरमा उफ्रिने, उल्टिने दिनेश त्यही निरन्तरताको परिशिष्ट बोकेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भए । त्यही नामले उनी दुई महिना तालिमका लागि अमेरिका पुगेका थिए । त्यसपछि अर्को विश्व रेकर्ड पनि राखिसकेका छन् ।

एउटा अब्बल ‘पार्कर’ दिनेश यति तीक्ष्ण छन् कि उनको तुलना सम्भवतः दक्षिण एसियामै कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । पार्कर थालेको ११ वर्ष पुग्यो, सशस्त्रमा काम थालेको ८ वर्ष । उनी जागिरे हुनु पूर्व नै हलचोकमा ल्याइएका थिए । उनको जिम्न्यास्टिक देखेर तत्कालीन सशस्त्र प्रहरी बस्नेतले खोटाङबाट टपक्क टिपे । वल्ड फ्री रनिङ पार्कर फेडेरशनले निम्तोमा उनी अमेरिकाको फ्लोरिडा, वल्र्ड च्याम्पियनसिपमा सहभागिताको तयारीका लागि पुगेका थिए । विश्वका विभिन्न मुलुकका अब्बल खेलाडी सामु उनले सुखद प्रदर्शन गरे । ८० जनामा उत्कृष्ट ८ मा परे।

‘हामीकहाँ जिम्न्यास्टिक र पार्किङका लागि सुविधा छैन, त्यसको व्यवस्था गतिलो छैन । यद्यपि मैले प्रयास गरेको छु ।’, उनी भन्छन्,‘विश्वका धनी देशका अन्य खेलाडीजस्तो तालिम पाउने हो भने नेपालको नाम अझ माथि राख्न सकिने देखेको छु ।’ उनको कला नेपाली फिल्ममा पनि बिकेको थियो । हवलदार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भूमिका निर्वाह गरिसकेका छन् । उनको यही कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ । २ वर्षसम्म अनवरत अभ्यास गरेपछि दिनेशको माग कम छैन ।

‘मस्ट ट्विस्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनेट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराउन सफल भए । ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने गिनिजबुकमा उल्लेख छ, मैले १८ पटकसम्म गरेर देखाएँ’, गिनिज बुकको प्रमाणपत्र हातमा देखाउँदै भन्छन्,‘यति गरे मेरो देशको नामलाई विश्वमा चिनाउने एउटा आधार बन्न सकेको छु । अझ स्पर्धाहरूमा देशलाई उँचो बनाउने रहर छ ।’

उनले अर्को एटेम्प पनि सके । द मस्ट ब्याक वार्ड समरसाउट वाल इन ३० सेकेन्डमा रेकर्ड कायम गरेका छन् । ३० सेकेन्डमा १६ पटकको रेकर्ड तोडिदिए । उनले सोही समयमा १५ पटक गरेर देखाए । दुर्घटना भए जीवन नै खतरामा पर्ने भए पनि उनी डराएनन् । उनको सहयात्रामा श्रीमती शर्मिला सुनारले कहिले रोकिनन् । बरु, अघि बढ्ने हौसला मात्र दिइन् । रेसलर बहिनी अस्मिता, काका सुवास, भाइ सुनेसले दाइको यो जोखिमपूर्ण कामलाई विश्वमाझ लैजानका लागि हौसाए । ‘परिवारको पुरै सहयोग र साथ छ । म यही कुराले पनि उत्तोलित भएको छु । बाहिर पनि मलाई साथ दिने मात्र भेटेको छु ।’

उनी आगामी साता तेस्रो रेकर्डको तयारीमा छन् । र, त्यो ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड (पार्कर)’ हो । यसमा पनि विश्व रेकर्ड कायम राख्ने उनको आत्मविश्वास छ । दिनेश भन्छन्,‘नेपालीको छोरो भएका कारणले यसमा पनि नाम लेखाउन सक्छु भन्ने आत्मविश्वास छ । केही अघि नै गर्ने तयारी थियो तर आगामी साताचाहिँ गर्ने तयारी भइसकेको छ ।’ विश्वमा पार्कर खेललाई निक्कै प्रभावकारीताका साथ हेरिने गरिन्छ । यो अचम्मको तिक्ष्णता र सीपका रूपमा बुझिन्छ । तर नेपालमा बुझाउनका लागि केही समय लागे पनि दिनेश जस्ताको विश्व रेकर्डले पक्कै पनि परिचय स्थापित हुने आकलन गरिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू