अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

पञ्चासे केवलकार निर्माणको सम्पूर्ण गृहकार्य सम्पन्न, निर्माण चरणमा प्रवेश

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:४३ मा प्रकाशित

पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्म निर्माण गर्ने ८.५ किलोमिटर दूरीको केवलकार सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको स्पष्ट पारेको छ । बिहीवार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त केवलकार निर्माण गर्नेबारे जानकारी गराएको हो । कुल ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण हुने उक्त केवलकार नेपालकै सबैभन्दा ठुलो र लामो हुनेपनि कम्पनीको दाबी छ । उक्त परियोजनाले पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने पनि कम्पनीको दाबी छ ।

पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडकाअनुसार मोनोकेबल डिटाचेवल प्यासेन्जर केबलकार निर्माणका लागि सरकारसँग करिब ३ हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भैसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । शर्माले उक्त केवलकार निजी, सामूदायिक र जनसहभागितामा निर्माण हुने बताउनुभयो । उहाँले पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रविन्दु बनाउँदै वृहत पर्यटकीय गन्तव्यको विस्तार गरि पर्यटकहरुको बसाई लम्बाउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ आफूहरुले उक्त केवलकारको परिकल्पना गरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्मा तिमिल्सिनाले परियोजना निर्माण भएसँगै उद्यमशिलतामा परिवर्तन आउने विश्वास दिलाउनुभयो । परियोजनाको लागि लाग्ने लागतको लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागितामा जुटाउने पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त परियोजना अष्ट्रेलियन प्रविधिमा निर्माण गर्न लागिएको छ । आयोजकले जनाएअनुसार यो केवलकार नेपालमै पहिलो ट्रान्जिटयुक्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू