अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

सहयोग लिएर मेरी बास्सै टिम पुग्यो बुद्धिमानको घर

बिआरटीनेपाल २०७५ माघ २२ गते ११:५७ मा प्रकाशित

नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात खुट्टा गुमाएका बुद्धिमान कुँवरको सहयोगार्थ १ लाख १६ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ । नागानो केन जापान परिवारले जापानमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूबाट सङ्कलित उक्त रकम बुद्धिमानलाई मङ्गलवार हस्तान्तरण गरिएको हो । संस्थाका संरक्षक पम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्र प्रसाद सिलवालको सक्रियतामा सङ्कलित रकम मेरी बास्सैका कलाकारहरूले बुद्धिमानलाई हस्तान्तरण गरेका हुन् ।

मेरी बास्सैका कालकार लेखान्त भुसाल ‘घिरौले’ र दिवाकर भण्डारी ‘सापटी काका’ को हातबाट बुद्धिमानलाई उक्त रकम प्रदान गरिएको हो । उनको सहयोगका लागि सापटी काका र घिरौलेले नेपाली समाज नागानो केन जापानसँग सहयोगका लागि लबिङ गरेका थिए । उक्त सहयोग रकम प्राप्त भएपछि बुद्धिमान र उनकी पत्नी पनि खुसी भएका थिए । उनीहरूले उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै अझै सहयोगको आशा राखेको बताएका छन् ।

बुद्धिमानको सहयोगका लागि हालसम्म करिब १५ लाख रुपैयाँ रकम सङ्कलन भइसकेको सहयोग समितिका भुपेन्द्र बस्नेतले बताएका छन् । दुई ओटा हात र एक खुट्टा हाल्नका लागि १ करोड बढी रकम लाग्ने बस्नेतले बताए । रोजगारीको सिलसिलामा भारत गएका बाँकेका बुद्धिमानको करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण हाल उनी सहयोगको अपिल गर्दै काठमाडौँ आएका छन् । 

प्रतिक्रिया