अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

भियतनाममा खिचियो लभ स्टेसन नयाँ गीत

बिआरटीनेपाल २०७५ माघ २० गते १०:५३ मा प्रकाशित

२२ चैतमा चलचित्र रिलिज हुँदै

काठमाडौँ, चलचित्र ‘लभ स्टेसन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनीत यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाङ्कन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो । 

यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धी सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाङ्कन गरेको भियतनाममा लभ स्टेसनको एउटा गीत छायाङ्कन गरिएको छ । यो चलचित्रको लभ सङ घाम जुन नै चाहिँदैन…को छायाङ्कन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

यो गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् । भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाङ्कन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक साबित हुने विश्वास निर्माण पक्षको छ । यो गीतको भिडियो आगामी भ्यालेन्टाइनको अवसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायाङ्कन सकेर निर्माण टोली शुक्रवार काठमाडौँ आएको हो । 

यो चलचित्रका प्रस्तुत कर्ता एवम् वितरक गोविन्द शाहीले लभ स्टेसनको रिलिज मिति घोषणा गर्दै यसलाई २२ चैतमा रिलिज गर्नु लागेको बताए । कारणबारे उनले भने,‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साइँली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यवस्थित गर्न पनि लभ स्टेसनलाई २२ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेसन साङ्गीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा लभ स्टेसनमा आफ्नो काम केही पृथक् रहेको बताएका छन् । अहिलेसम्मको काम प्रशंसनीय भएको यी अभिनेताले जानकारी गराए । नयाँ गीत घाम जुन नै चाहिँदैन पनि साह्रै मिठो र भिजुअल रूपमा निकै सुन्दर बनेको प्रदीपले बताए ।

लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । 

प्रतिक्रिया