अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

चितवनमा विपिनले भेटे साँच्चीकैका ‘गोपी’

श्रीधर पौडेल २०७५ माघ ६ गते १०:०० मा प्रकाशित

शनिवारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका विपिन कार्कीले चितवनमा साँच्चीकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैँ गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । विपिनले चितवनको ठुलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।

२०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले फिल्मको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महसुस भएपछि फिल्मको टिमसँग भेट्न मन लागेको बताए ।

‘छोरा भाइले पहिला फिल्मको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि केही भन्ने भयो । पछि ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा फिल्म बनाएछन् भन्ने लाग्यो । आज उहाँहरूसँग भेटेर उहाँहरूको कुरा सुनेपछि त झनै आफ्नै कथामा फिल्म बनेको रहेछ जस्तो लागेको छ,’ गोपीले भने, ‘ मैले त आजसम्म हल टेकेको छैन । पहिलो चोटि आफ्नै नाम र कथामा बनेको फिल्म हेरिन्छ ।’

अभिनेता विपिन कार्कीले ‘गोपी’को सुटिङको सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटेका छन् जसले फिल्मको कथा मेरै जस्तो जस्तो लाग्यो भन्ने गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि त यस्तो प्रतिक्रिया दिने बाक्लै छन् । ‘तर, उहाँको त नाम मात्र हैन, गाई पाल्ने कथा पनि फिल्मको जस्तै रहेछ । संर्घष पनि फिल्मको जस्तै लाग्यो ,’ विपिनले भने, ‘ तर, यो फिल्मको विशेषता नै यही हो फिल्म हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महसुस गर्नुहुन्छ ।’

विपिनले गोपीको ढकाल गाईफर्मको अवलोकन गर्दै फिल्मले उहाँहरू जस्ता कृषकलाई हौसला दिने बताएका थिए भने ढकालले आफ्नो फार्ममा सयभन्दा बढी गाई रहेको र दिनको ८ सय लिटर दूध उत्पादन गर्ने जानकारी गराएका थिए ।

फिल्मको प्रचारका लागि चितवन आइपुगेको ‘गोपी’को टिममा विपिनबाहेक वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् । शनिवार नै पत्रकारसँग अन्तक्र्रियासमेत गरेको टिमले फिल्मले देशमै केही सकिने सम्भावनालाई फिल्मले प्रस्तुतिको माध्यम बनाएको जानकारी गराएको थियो ।

अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको फिल्मले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । ‘ हाम्रो पहिलो उद्देश्य मनोरञ्जन दिनु नै हो । तर, यो फिल्मले आफ्नै विषय र शैलीमा यसलाई पस्कने जमर्को गरेको छ,‘उनले भनिन्, ‘फिल्मले नेपालमा केही गरिरहेकालाई त हौसला दिन्छ नै नगरेकालाई पनि केही गर्न आँट दिन्छ ।’

माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा विपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अङ्कित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । 

प्रतिक्रिया