अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

पृथ्वीको उत्तरी गोलार्द्धमा आज वर्षकै सबैभन्दा छोटो दिन

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:१८ मा प्रकाशित

आज डिसेम्बर २१ अर्थात् पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुने दिन हो । यसको ठीकविपरीत दक्षिणी गोलार्द्धमा भने आज वर्षकै लामो दिन हुन्छ । एक गोलार्द्धको सूर्यतर्फको झुकाव नै यसको प्रमुख कारण हो ।

पृथ्वीले सूर्यको परिक्रमा गर्दैगर्दा पृथ्वी आफ्नो अक्षमा पनि घुम्ने गर्दछ । पृथ्वीले आफ्नो अक्षमा एक चक्कर लगाउँदा एक दिन हुन्छ भने आफ्नो कक्षमा एक परिक्रमा गर्दा एक वर्ष हुन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दा २३.५ डिग्री कोणको झुकावमा घुम्ने गर्दछ ।

पृथ्वीको दक्षिणी गोलार्द्धको झुकाव सूर्यतर्फ हुन्छ भने उत्तरी गोलार्द्ध सूर्यभन्दा विपरीत झुकेको हुन्छ । त्यसै झुकावले सूर्यको सीधा प्रकाश भिन्न–भिन्न स्थानमा पर्दछ । जसका कारण पृथ्वीमा वर्षभरि दिन, रात र मौसममा भिन्नता देखिन्छ । यस झुकावले भूमध्येरेखा आसपासका क्षेत्रमा सूर्यको प्रकाशमा खासै भिन्नता नभएपनि पृथ्वीका गोलार्द्धतर्फ भने धेरै प्रभाव देखिन्छ ।
यसैका कारण अंग्रेजी महिनाको डिसेम्बर २१ देखि २३ तारिखमध्येको एक दिन उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन र लामो रात हुने गर्दछ भने दक्षिणी गोलार्द्धमा यसको विपरीत सबैभन्दा लामो दिन र छोटो रात हुन्छ । त्यसैगरी, जुन २१ देखि २३ तारिखमध्येको एक दिन उत्तरी गोलार्द्धमा सबैभन्दा लामो दिन र छोटो रात हुन्छ ।

पृथ्वीले सूर्यको निरन्तर परिक्रमा गरी नै रहेको हुन्छ । त्यसैले पृथ्वीमा सूर्यको ताप कहिले एउटा गोलार्द्धमा बढी पर्छ त कहिले अर्कोमा । त्यही कारण ऋतुहरु पनि परिवर्तन भइरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू