अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

नेपालमा लगानी बढाउन चिमनियाँ लगानी कर्तालाई आग्रह: चन्द्र ढकाल

बिआरटीनेपाल २०७५ पुष ३ गते २०:३० मा प्रकाशित

काठमाडौँ, चिनिया व्यावसायिक प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायीहरू बिच आज महासङ्घ सचिवालयमा द्विपक्षीय भेट वार्ता सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल र चीनको हपेई उद्योग वाणिज्य महासङ्घ तथा हपेई प्रान्तीय उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चाओ सुफेङबीच भेट भएको हो ।

सो भेटवार्तामा नेपाली र चिनिया उद्यमी व्यवसायी बिच नेपाल–चीन आर्थिक व्यावसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको छ । सो अवसरमा प्रतिनिधिमण्डलको स्वागत गर्दै उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा स्पष्ट पारे । नेपालमा यतिखेर लगानीका लागि सबैभन्दा उपयुक्त समय भएको समेत उनले बताए । नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसाबले समेत सबैभन्दा बढी लगानी गरिरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा नेपालले गरेको पनि उनले बताए ।

‘नेपालमा लगानी, पुँजी, प्रविधि भित्र्याउदा तपाइहरूलाई आवश्यक सहयोग गर्न महासङ्घ तयार छ’, उपाध्यक्ष ढकालले विश्वास दिलाए । सन् २०१९ को मार्चमा नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेकोले उक्त सम्मेलनमा सहभागिताका लागि चिनिया“ पक्षलाई आमन्त्रण समेत गरे । साथै उनले सम्मेलन अगाडि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यावसायिक ऐन र अन्य आवश्यक ऐन कानुनहरूलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरी बढी भन्दा बढी वैदेशिक लगानी आकर्षणका लागि सरकार र निजी क्षेत्रले गृहकार्य गरिरहेको जानकारी गराएका थिए ।

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासङ्घका तर्फबाट व्यावसायिक कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आब्हान गरियो । उपाध्यक्ष ढकालले महासङ्घले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा हपेई प्रान्तको महत्त्वपूर्ण सहभागिताका लागि निम्तो समेत दिए ।

सो अवसरमा चिनिया पक्षबाट हपेई प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पुजी मार्फत नेपालको विकासमा सहयोग गर्न तीव्र इच्छा व्यक्त गरियो । प्रतिनिधिमण्डलका नेता एवम् हपेई उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हपेई प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पारे । सो अवसरमा चिनिया पक्षबाट व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदानमा समेत जोड दिइयो । साथै सो अवसरमा भएको छलफलमा नेपालको जलविद्युत् विकासमा सहकार्य गर्ने विश्वास चिनिया पक्षबाट व्यक्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू