अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 06:15

डा.श्याम कार्कीलाई अनेसासको बोर्ड अफ ट्रस्टीको दोस्रो कार्यकालका लागि किन जिताउन हुन्न ?

गोविन्द गिरी प्रेरणा २०७५ कार्तिक १३ गते २१:११ मा प्रकाशित

नेपाली सङ्घ संस्थामा कुनै पदमा पुगेपछि त्यो पद ज्यान गए पनि नछाड्ने प्रवृत्ति नौलो, आश्चर्यजनक र अपत्यारिलो कुरा होइन । बरु कुनै व्यक्तिले आफ्नो एक कार्यकाल सकिएपछि सहजै वहिर्गमन रोज्यो भने आश्चर्यको विषय बन्दछ । यस सन्दर्भमा मलाई यौटा घटनाको सम्झना हुन्छ, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद्का सदस्य वालकृष्ण पोखरेलले राजा वीरेन्द्रलाई धनकुटामा दर्शन भेटका अवसरमा सरकार मैले यो कार्यकाल पूरा गरेपछि मलाई पुग्यो भनेका थिए । फलतः अर्को कार्यकाल उनलाई नियुक्त गरिएन । अरू प्राय जसो दोहोरिए । तर वालकृष्ण पोखरेलले थप कार्यकाल एकेडेमीमा नबसे पनि उनलाई सदा सम्झने काम एकै कार्यकालमा गरेर देखाइदिए र वहिर्गमनको बाटो रोजे ।

सन् १९९० मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई व्यक्तिवादी भएको आरोप लाग्ने गर्थ्यो । त्यसपछि उहाँलाई परिवारवादको आक्षेप लाग्न थाल्यो । वास्तवमा आफूले स्थापना गरेको संस्था आफूले परिकल्पना गरे झैँ चल्दै जाओस् भन्ने सुमनसायले नै उनले आफू सधैँ सर्वेसर्वा भइरहूँ भन्ने सोचेर त्यसो गर्नु भएको हुनुपर्छ भन्ने मेरो ठम्याई छ । तर आम मानिसले त्यसो सोचिदिएनन् । अर्को कुरा पब्लिक मनी संस्थामा आइसकेपछि पब्लिकको कुरा सुन्नु पर्छ, मान्नु पर्छ र व्यक्ति होइन पद्धतिले संस्था चल्नुपर्छ भन्नेतिर उहाँले ध्यान पुर्‍याउन नसक्दा ठुलै आलोचनाको भारी उहाँले खप्नु पर्‍यो । तर अनेसासको आजको अवस्था हुनलाई उनको र उनको परिवारको यति ठुलो देन छ कि त्यसको तुलना कसैसँग हुनै सक्दैन । होमनाथ सुवेदीको योगदान पूजा गर्नु पर्ने बराबरको छ केही कमी कमजोरीका बाबजुद ।

मैले जाने बुझेसम्म अहिले होमनाथ सुवेदीको कुनै प्रत्यक्ष संलग्नता छैन अनेसासमा । तर होमनाथ सुवेदीको संस्थाबाट वहिर्गमन पश्चात् संस्थाको संरचना र गतिविधिमा आमूल परिवर्तन गर्छु भन्नेहरूले विगतका वर्षहरूमा गरेको कृयाकलाप हेर्दा बोलाई र गराइमा कति भिन्नता हुन्छ, भन्न जस्तो गर्न सजिलो नहुने रहेछ भन्ने त प्रमाणित नै भयो । तर त्यो भन्दा सोचनिय के भइदियो भने राम्रा परम्पराहरू पनि ध्वस्त भए । नयाँ काम थालनी गर्न नसके पनि पुराना कामको स्तरिय निरन्तरता दिन नसक्नुलाई क्षम्य मान्न सकिँदैन ।

हरेक २ वर्षमा प्रदान गरिने अनेसासका विभिन्न पुरस्कारहरू दोस्रो वर्षको डिसेम्बरसम्म आइपुग्नु पर्ने र मूल्याङ्कनको लागि प्रोसेसमा लैजाने परम्परा तोडिएर मन लागुसम्मको म्याद बढाउने संस्कार सुरु भयो । यसले गर्दा हरेक २ वर्षमा प्रदान गर्नको लागि अन्तिम म्याद डेढ लाइन भङ्ग भयो र वेथितिको सुरुवात भयो ।

अनेसासका पुरस्कारहरूको घोषणा भानु जयन्ती समारोहमा गर्ने र देवकोटा जयन्तीमा वितरण गर्ने प्रचलन थियो । तर घोषणा गर्ने र वितरण गर्ने तिथि मिति पनि भद्रगोल हुन थाल्यो । तर त्यो भन्दा पनि आश्चर्यजनक जति वटा पनि पुरस्कार स्थापना र अन्त्य हुने नयाँ नौलो र उदेकलाग्दो परम्परा थालियो जसलाई लाजमर्दो भन्न पनि लाजमर्दो हुन्छ ।

अनेसासको आजीवन सदस्यता १०० डलर तिरेपछि अमेरिकाको कार्यक्रममा आउन निम्तो पाइने प्रचलनले यो संस्थाको साख गिरेको छ । १०० डलर वा सो बराबरको रकम नै सदस्यताको मापदण्ड कसरी मान्य हुनसक्छ ? अमेरिकाको भिसाकै लागि प्रायोजित प्रथम पुस्तक नयाँ पुरस्कारले पुरस्कृत गराई आजीवन सदस्यताको खोल ओढाएर निम्त्याइनु र पुरस्कार चयन समितिका सदस्यले पुरस्कारको नतिजा प्रकाशित भएपछि मात्र पत्तो पाउनु कति घोर अनैतिकता हो सोचनिय छ ।

आफ्नो लगानीमा जोसुकैको जस्तो सुकै पुस्तक प्रकाशन पनि अनेसासको नामबाट हुने गरेकाले साहित्यिक गरिमा र महिमाको खिल्ली आफैँले उडाएको लज्जास्पद अवस्था पक्कै पनि संस्थाको हितमा हुन्छ भन्न सकिन्न ।

यी मैले उल्लेख गरेका तथ्यहरू दृष्टान्तका लागि मात्र उल्लेख गरेको हुँ, संस्थाको पुरै लेखाजोखा र मूल्याङ्कन गरेको होइन । तर यी सब कुरा अनेसासका बोर्ड अफ ट्रस्टीका अध्यक्षलाई थाहा भएर पनि केही गर्न नसक्नु भएको हो कि थाहा नै नभएको हो यो उहाँलाई नै थाहा हुने कुरा हो । थाहा भएर पनि केही गर्न नसकेको हो भने उहाँलाई असक्षम भन्नुपर्ने हुन्छ । थाहा नै नभएको हो भने पनि उहाँ असक्षम नै हो । भनेपछि डा.श्याम कार्कीलाई दोस्रो कार्यकालको लागि जिताउनुको कुनै तुक देखिन्न ।

उम्मेदवारी दिने सम्बन्धमा उहाँले निम्न ५ कुरा उल्लेख गर्नु भएको छ:
१, “एक कार्यकालमा आफूले सन्तोषजनक काम गरेको र अझ पनि केही काम गर्न बाँकी रहेकोले दोस्रो कार्यकालको लागि उम्मेदवारी दिने विचार गरेको”

२, “आफ्ना साथीभाइ र संस्थासँग सम्बन्धित आबद्ध सँग सरसल्लाह गरेर पुन: दोस्रो पटकको लागि आफू सभापतिमा लड्ने सोच बनाएको”

३, “आफ्नो नेतृत्वमा अनेसासको रजत जयन्ती मनाइएको ,बोर्ड अफ ट्रस्टी र अनेसास केन्द्रीय समिति बिच आफूले पुलको काम गर्दै सुमधुर सम्बन्ध स्थापना गर्न सफल भएको तथा आगामी दिनमा अनेसासको भवन निर्माण गर्ने योजना समेत अगाडी बढाई सकेको”

४, “अनेसासले प्रदान अर्ने पुरस्कारहरूलाई अझ उपल्लो स्तरमा लैजाने ,गरिमामय बनाउने तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनको आयोजना गर्ने योजना समेत रहेको ”

५, “साथीभाइहरूको आग्रह अनुरोधलाई समेत मध्यनजर गर्दै दोस्रो कार्यकालको लागि सभापति (चेयर ) पदको उम्मेदवार बन्ने भएकोले सबैले समर्थन तथा सहयोग गर्न समेत अनुरोध तथा आव्हान”

यी ५ बुँदाको आधारमा उहाँले उम्मेदवारी दिने हो र जिताउनु पर्ने हो भने उहाँलाई आजीवन अध्यक्ष बनाए पनि समय सीमा पुग्ने देखिँदैन । यी बुँदाहरूमा कतै पनि उहाँ बाहेक अरू कसैले गर्न नसक्ने भिजन, मिसन र कार्य योजना देखिँदैन ।

व्यक्तिगत रूपमा म डा.श्याम कार्कीलाई एक असल , भद्र र शालीन व्यक्तिको रूपमा आदर गर्दछु । तर दोस्रो कार्यकालका लागि भने उहाँ उपयुक्त उम्मेदवार हो भन्ने मलाई लाग्दैन ।

तर विचारणीय कुरा के छ भने यो निर्वाचनमा १००० डलर (एक हजार अमेरिकी डलर) तिरेका बोर्ड अफ ट्रस्टीका साहित्यकार, साहित्य प्रेमी वा गैर साहित्यकारले चुन्ने हो । यदि डा.श्याम कार्कीले गत कार्यकालमा गरेका नगरेका काम भन्दा असल काम, योजना , दृष्टिकोण भएका अरू व्यक्ति बोर्ड अफ ट्रस्टीमा छैनन् र यथास्थिति नै उत्तम हो सुधार गर्नु पर्ने ठाउँ छैनन् र सुधार आवश्यक छैन भने डा.श्याम कार्की नै उत्तम उम्मेवार मानेर जिताए हुन्छ ।