अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

घर जाने बाटो

गोविन्द गिरी प्रेरणा २०७७ जेठ १९ गते १५:५३ मा प्रकाशित

खोइ कता पर्‍यो ए गाॅंठे
घर जाने बाटो !
घर जान खोजेको हुॅं
गाउॅं जान खोजेको हुॅं
देश जान खोजेको हुॅं
तगारो लागेको छ जताततै
यता हेर्छु तगारो
उता हेर्छु तगारो
बाटो नै तगारो भएछन् कि क्या हो
खोइ कता पर्‍यो ए गाॅंठे
घर जाने बाटो !

मरणासन्न सपनाका भारीहरू फाल्दिएँ
नदीमा हाम्फाल्दा
लगाउने लुगा पनि फाल्दिएँ
अलिकति लाज छोप्ने कट्टु छाडेर
सब थोक फाल्दिएँ
फाल्न मिल्ने
सब थोक फाल्दिएँ
भिजेको कट्टु
र भिजेको शरीर बाॅंकी थियो
त्यै लिई आएँ
तर खै बाटै छैन
खै कता पर्‍यो ए गाॅंठे
घर जाने बाटो !

तगारोमा तैनाथ
सुरक्षा कर्मीहरूको घेरामा परेँ
देशद्रोही झैँ
दुस्मन झैँ
अपराधी झैँ
म त एम्बुसमा परेँ
म त घर फर्केको हुॅं
आफ्नै घर
आफ्नै गाउॅं
आफ्नै देश
खै कता पर्‍यो ए गाॅंठे
घर जाने बाटो !

१ जून २०२०, वृन्दावन, भारत ।