अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

गाभाको विश्व यात्रा

गोविन्द गिरी प्रेरणा २०७५ मंसिर २१ गते १२:४५ मा प्रकाशित

कहिलेकाहीँ विचित्रका घटनाहरू आइपर्छन् मान्छेको जिन्दगीमा र त्यस्ता घटनाहरू सम्झनामा आइरहन्छन् । कति मिठा घटनाहरू हुन्छन्, कति तिता त कति अनौठा । रमाइला । गाभाको विषयमा पनि त्यस्तै भयो ।

सुनिल पुरी सुनित नेपाली साहित्यमा विशेष गरी कविता विधामा कलम चलाउने सर्जक हुन् । यिनको रचनाशिलता निरन्तर छ । बग्रेल्ती पनि लेख्दैनन् । भीषण चर्चा परिचर्चा पनि हुँदैन । तर निरन्तर लागेका छन् सिर्जनामा । उनको निरन्तरता नै उनको खास परिचय हो भन्ने लाग्छ मलाई । 

छोटो कद । सधैँ ओठमा मुस्कान । मिलेको जुँगा । सुनिलको बाहिरी रूप यति नै हो सबले देख्ने, सम्झने । यिनले २०७२ सालमा यौटा नयाँ काम गरे, फरक काम । त्यो थियो गाभा को प्रकाशन । कुनै सर्जकको कुनै कृति निस्कनु सामान्य घटना नै हो साहित्य जगतमा । तर यो फरक थियो भिन्न थियो । चर्चाका लागि विषय थियो । काम थियो । त्यो थियो गाभाको रूप र स्वरूप ।

गाभा निस्केदेखि नै सामाजिक सञ्जालमा चर्चा भयो, यसको आकारले गर्दा । ६४ पृष्ठको मुट्ठीभित्र अटाउने साइजमा पुस्तक प्रकाशन भए पछि यसको रूपले चर्चा पायो ।

सम्भवतः यो नेपाली साहित्यकै सानो साइजको किताब हो भन्ने चर्चा नै मूल चर्चाको विषय रह्यो । म अमेरिका छँदै यो पुस्ततको चर्चा चुलिएको थियो र म यो पुस्तक हेर्न, पढ्न चाहन्थेँ । संयोगवश २०७२ सालमै मैले नेपाल जाने कार्यक्रम बनाएँ । अनि सुनिलसँग उनकै निवास पुल्चोकमा भेटघाट गरेँ । उनले निकै जतनकासाथ त्यो पुस्तक दिँदै भने, यो सानो पुस्तक छ । साह्रै सानो । हराउला राम्रोसँग अमेरिका लैजानोस् है ।
मैले सहर्ष सो पुस्तक ग्रहण गरेँ र भनेँ, अवश्य म जतनकासाथ अमेरिका पु्र्याउँछु ।

भनेँ मात्र होइन, भने अनुसार मैले अमेरिका ल्याएँ र आफ्नो निजी पुस्तकालयमा जतनकासाथ राखेँ । यस्तो जतन गरेछु कि नहराओस् भनेर राखेको, तर मैले कहाँ राखेँ सो ठाउँ नै बिर्सिएँ । गाभा हराएको थिएन, गाभा राखेको ठाउँ हराएको थियो । लौ फसाद । फुर्सतमा पढौँला भनेको थिएँ, पढ्न पनि पाएको थिईंन, गाभा होइन गाभा राखेको ठाउँ पो हरायो ।

बेलाबेलामा खोज्थेँ, पाउन्नथें । गर्ने के ? नेपाल जाँदा छ भने अर्को प्रति मागौँला सुनिलसँग भनेर चित्त बुझाउँथेँ । तर अचानक पाइयो । ल अव पढ्नु पर्छ एक दिन भनेर झन् मेहनतकासाथ जतन गरेर राखेँ । अव पढ्छु भनेर हेर्छु त राखेको ठाउँ नै गायब । गाभा हराएको होइन, गाभा राखेको ठाउँ हराएको छ । धत्तेरी भनेर चित्त बुझाउनुको अरू कुनै विकल्प थिएन ।

गएको मे महिनामा नेपाल जानुअघि मनासस सहरबाटबाट फल्स चर्च सहरमा घर सर्ने क्रममा फुत्रुक्क देखा पर्‍यो गाभा । च्याप्पै समातेँ र अव गाभा पनि नहराओस्, गाभा राखेको ठाउँ पनि नहराओस् भनेर राख्ने ठाउँ खोज्न थालेँ । मेरो छैठौं इन्द्रियले गजबको सुझाव दियो । पर्समा राख्ने । पर्स त सधैँ साथै हुन्छ । आकार प्रकारमा सानो र हलुङ्गो भएकाले गह््रुँगो पनि नहुने, अटाउन पनि मज्जाले अटाउने तथा जतन पनि उच्च शतर्कताकासाथ उच्च प्राथमिकतामै हुने । परिचयपत्र कार्ड राख्ने छेउमा राखेँ । यो सबैभन्दा महत्त्वको ठाउँ हो । अमेरिकामा परिचयपत्र कति महत्त्वको छ, कुनै व्याख्या विश्लेषण गरिरहनु पर्ने कुरा भएन ।

सन् २०१८ को मेमा मैले साँढे तीन महिनाको यात्राका लागि प्रस्थान गरेँ । मसँगै गाभाले पनि पर्समा विराजमान भएर प्रस्थान गर्‍यो ।
मेरो यात्रा वासिङ्टन डिसीबाट अवुधावी हुँदै भारत भएर नेपाल पुग्ने थियो ।

वासिङ्टन डिसीबाट विमान अवुधावी पुग्यो । गाभा पनि अमेरिकाबाट अवुधावी पुग्यो । त्यहाँबाट म दिल्ली, मसूरी, देहरादून, वृन्दावन पुगेँ । गाभा पनि मेरो पर्समा बसेर ती ती ठाउँ पुग्यो । काठमाडौँ आएँ । काठमाडौँबाट मुगलिंगको बाटो हुँदै पोखरा, पोखरावाट नारायणघाट भरतपुर हुँदै हेटौडा पुगेँ । गाभा मेरो साथमै थियो । त्यसपछि काठमाडौँ फर्किएँ ।

काठमाडौँबाट म एक हप्ताका लागि जापान भ्रमणमा निस्किएँ । जापानको टोकियोको सेरोफेरो पनि गाभाले मसँग चक्कर लगायो । म हिरोशिमा पुगेँ, अणुबमले विश्वयुद्धमा क्षतविक्षत सहर । गाभा पनि पुग्यो । जापानवाट फर्कँदा सिङ्गापुर पनि घुम्ने चान्स पाइयो । त्यो चान्स गाभाले पनि पायो । गाभा त मेरो पर्समा विराजमान भएर मैसँग यात्रा गर्दै थियो ।

साँढे तीन महिनाको भारत, नेपाल र जापानको यात्रा सकेर अमेरिका फर्किएँ, कर्मभूमि । गाभा पनि फर्कियो । यसरी गाभाले जापानदेखि अमेरिका र बिचका कैयन राष्ट्र« पुगेर एक किसिमको विश्व यात्रा नै गर्‍यो । तर अचम्म यत्रो लामो यात्राको बिचमा पनि मैले गाभा आद्योपान्त पढ्ने साइत जुराउन सकिन्न । नेपाल बसाइको क्रममा सुनिल पुरी सुनित, किशोर पहाडी र म एक बिहान हिप ट्र«ान्सप्लाण्ट गरेर घरमा स्वास्थ्य लाभ गरेर बसेका कवि दिनेश अधिकारी भेट्न गयौँ साथै । गाभाको पनि चर्चा त चल्यो तर विस्तृत अरू कुरा भएन ।

अमेरिका फर्केपछि यो साह्रै भएन, अव त पढ्नु पर्‍यो र लागेको लेख्नु पर्यो् भनेर लेख्ने टेबुलमा राखेर चियाको चुस्की लगाउँदै थिएँ, पुन्टे पुच्छर हल्लाउँदै आयो र टेबुलमा सुँसुँ गर्दै थियो, केही चपाउन थाल्यो सोफामा बसेर । यसो हेर्दछु, टेबुलबाट गाभा गायब छ । हत्त न पत्त पुण्टेको मुख च्यातेर हेर्दछु त गाभा दाँतले च्यापेर बसेको । मैले जवरजस्ती पुण्टेको मुखवाट खोसेर निकालेँ गाभा । एकाध पल्ट दाँतले रगड्ने प्रयास गरिसकेको रहेछ । अलिकति त्यसको र्यालले भिजी पनि सकेछ । मैले त्यसलाई जतन गरी पल्टाएँ, पानाहरू सावुत नै रहेछन् ।
मलाई लाग्यो, गाभा कालको मुखमा पुगेर फर्कियो । बाँच्यो । अव पनि मैले पढिंन भने त मैले मलाई नै माफी गर्ने अवसर प्राप्त हुने छैन ।
हाइकु सङ्ग्रह हो गाभा, हाइकुमै समर्पण गरिएको छः

हाइकु जग
शङ्कर लामिछाने
यो समर्पण
नेपाली साहित्यमा हाइकुको प्रथम प्रयोक्ता शङ्कर लामिछाने हुन् र जापानी हाइकुलाई नेपाली साहित्यमा भित्र्याउने श्रेय उनैलाई जान्छ । त्यसैले हाइकुका आदि कविमा यो पुस्तक समर्पण गरेको बुझिन्छ ।
भूमिका लेखेका छन् राम कुमार पाण्डेले दृष्टि सृष्टि वृष्टि शीर्षकमा यी तीन शब्द सामेल गरी लेखेका ३ हाइकु ।

१,
हाइकु दृष्टि
भुर्इं कुहिरो भित्र
सुनिल पुरी ।

२,
सुन्दर सृष्टि
छचल्कियो जून त्यो
जलका परी ।

३,
शब्दको वृष्टि
इन्द्रेणी तरङ्ग
हाइकु पुरी ।

नेपाली साहित्यमा हाइकु औसत स्तरमा लेखिएका छन् । औसत भन्दा माथि उठ्न सकेको छैन । यी हाइकुहरू पनि त्यो औसत भित्रै पर्छ ।
वास्तवमा हाइकुको शैली तीन हरफमा पाँच सात पाँच अक्षर हुन् । नेपाली साहित्यका हाइकु कविहरूले यसलाई पालना त गरेका छन् तर पाँच सात पाँचको नियम पुर्‍याउन पाँच सात पाँचले दिने चोटिलो भाव, प्रतीक वा बिम्बबाट पुरै बेखबर छन् अधिकांश हाइकुहरू । पाँच सात पाँच बाहेक हाइकुको अर्को आवश्यकता भनेको प्रकृति बिम्ब हो जसलाई जापानीहरू किगो भन्दछन् । उनीहरू हाइकु पढ्दा किगो खोज्छन् । कुन बिम्बमा किगो छ, कुन प्रतीकमा किगो छ त्यसलाई नियाल्दछन् । प्रकृति ल्याउन त ल्याइएको छ नेपाली हाइकुमा तर अधिकाँशतः सोझै प्रकृति ल्याइने गरेको छ, प्रतीकका रूपमा होइन । बिम्बका रूपमा होइन । यसले गर्दा नै नेपाली हाइकु औसतबाट माथि उठ्न नसकेको हो । सोझो पाँच सात पाँच शब्दले हाइकु बने पनि प्रभावकारी हाइकु भने बन्न सक्दैन ।

यसमा नेपाली हाइकु कविलाई मात्र दोष दिन सकिँदैन । जापानी भाषाका शब्दमा पाइने प्रकृति बिम्बको भण्डार जुन छ, त्यो नेपाली भाषामा पर्याप्त नभएर पनि हुनसक्छ । शब्दको आकारको कारणले पनि हुन सक्छ ।
सुनिल पुरी सुनितका हाइकुका केही नमुना यस्ता छन्

फुल्दाफुल्दैमा
पारिजात झर्दै गो
मगमग बास्ना ।

जङ्गलभित्र
बतास सुसाउँछ
हल्लियो पात ।

रानीपोखरी
घण्टाघरको छाया
बुढो समय ।

मैले गाभालाई बुँदागत रूपमा यसरी भन्न चाहे

१, यो हाइकु कविताको नेपालको लघुत्तम पुस्तक हो ।
२, समर्पण मूल विधा हाइकु वाटै गरिएको छ ।
३, भूमिका पनि मूल विधा हाइकु कविता वाटै लेखिएको छ ।
४, यो पुस्तकको मूल्य राखिएको छैन ।

गाभा नेपाली साहित्यमा आयो । यसको अस्तित्व साहित्यमा सुरक्षित छ । हाइकु कविताका कवि तथा हाइकुका पारखीहरूलाई यो सुन्दर उपहार हो ।