अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

मेरो २०१८ सालः फर्केर हेर्दा

गोविन्द गिरी प्रेरणा २०७५ पुष १६ गते २३:४१ मा प्रकाशित

आज डिसेम्बर ३१, २०१८ । म विगतको वर्ष मैले कसरी बिताएँ, त्यो फर्केर हेर्ने कोसिस गर्दैछु । मलाई लाग्छ, संसारको सबैभन्दा ठुलो मूल्याङ्कन, आत्म मूल्याङ्कन हो, सार्वजनिक गरे पनि नगरे पनि ।

सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको मेरो सिर्जना हो । सृजनशीलता हो । जुन दिन मेरो सृजनशीलताको अन्त्य हुन्छ, भौतिक रूपमा म रहे पनि मेरो मृत्यु हो त्यो । म चाहन्छु, म लेखिरहूँ, लेखिरहूँ, जीवनको अन्तिम सास फेरुन्जेल लेखिरहूँ ।
गत वर्ष मैले केही कथा लेखेँ, केही छापियो, केही छापिने क्रममा छन् । नागरिकको परिवारमा अमेरिकन पासपोर्ट, रचनामा वास्टार्ड पिम्प, अभिव्यक्तिमा खासिपुका इण्टरनेशनल प्रकाशित भए । ती सन् २०१८ कै, अझ काठमाडौँ बसाइका क्रममा लेखिएका हुन् । नागरिक दैनिकमा हट नायिका प्रकाशन भयो । गन्तव्य अमेरिका एकेडेमीको समकालीन साहित्यमा आउँदछ भने लेस्वियन अनेसासको मुखपत्र अन्तरदृष्टिमा आउनेछ । नेपाली कला साहित्य डट कमको मुखपत्रमा कालो शिर्षकको कथा प्रकाशन भयो, सन् २०१८ कै सिर्जना । यस हिसाबले मैले प्रकाशित र प्रकाशन हुन बाँकी गरी सन् २०१८ मा ७ कथा लेखेछु ।

त्यसै गरी मैले केही लघुकथा लेखेँ २०१८ मा जुन धेरैजसो प्रकाशित भएका छैनन् । नेपाली लघुकथा समाजको १०औं वार्षिकोत्सवमा एउटा लघुकथा वाचन गर्ने अवसर पाएको थिएँ । लघुकथाहरू अचम्म, माथि, पुस्तक समीक्षा, लाज लाग्ने काम, खोट आदि लेखिए ।

केही संस्मरणात्मक लेख एवम् समीक्षात्मक लेखहरू पनि लेखेँ गत साल । दिवङ्गत लेखिका प्रेमा शाहको बारेमा चुपचाप झ¥यो पहेँलो गुलाफ मधुपर्कमा प्रकाशित भयो, गाभाको विश्व यात्रा, सुनिल पुरी सुनितको नेपालको सबैभन्दा सानो हाइकुको पुस्तकको बारेमा लेख विभिन्न अनलाइन पत्रिकाहरूमा छापिए, कथालयमा मेरो कथा घोराही शून्य किलोमिटर कथाको रचना गर्भ प्रकाशित भयो । पारिजातको उसले रोजेको बाटो माथि मैले लेखेको समालोचना भृकुटी पत्रिकाको पारिजात विशेषाङ्कमा आउनेछ । त्यस्तै इन्द्रबहादुर राईको विषयमा लेखिएको संस्मरणात्मक लेख इन्द्रबहादुर राई स्मृति ग्रन्थमा आउनेछ । त्यस्तै मनु व्राजाकीको बारेमा निस्कन लागेको मनमौजी मनुका लागि उनको संस्मरण पनि लेखेँ । मित्र वियोगी वुढाथोकीको शिवपुरी सन्देश पत्रिका २५ वर्ष पुजेको उपलक्षमा निक्लेको विशेषाङ्कमा झट्ट सम्झँदा शिवपुरी सन्देशका ती पुराना दिनहरू र मकै भटमास गुन्द्रुकको स्वाद लेखेँ र प्रकाशित पनि भयो ।
गत वर्ष पनि मैले विगतका वर्षहरूभन्दा शायद बढी नै कविताहरू लेखेँ । शाल्मलीमा बाँचेको खबर प्रकाशित भयो । अन्य ठाउँमा पनि प्रकाशनको क्रममा छन् । गत वर्ष नै मैले फेसबुक लाइभ कविता वाचनको क्रम सुरु गरेँ, अकाट्य कारणले गर्दा बाहेक मैले हरेक हप्ता २।३ वटाका दरले कविता वाचनमा निरन्तरता दिएको छु ।

अँ, मैले हाइकु लेख्ने गर्थेँ । केही प्रकाशन भएका पनि हुन् । तर हाइकुको नियम पाँच सात पाँचमा मात्र अधिकांश केन्द्रित हुन्थे, म पनि त्यसैमा केन्द्रित थिएँ । यसपालि जापान जाँदा थाहा भो परम्परागत हाइकु हुन किगो अर्थात् प्राकृतिक बिम्ब हुनुपर्छ । यो महत्त्वपूर्ण जानकारीले मैले पहिला लेखेका सयौँ सयौँ हाइकुहरू पूर्ण परम्परागत हाइकु नभएकोमा मन कसो कसो भइरहेको थियो, यसै महिना मैले सकेसम्म पाँचसातपाँच मा किगो पनि आरोपित गरेर १०० हाइकु लेखेँ । यस वर्ष यौटा कविता हिन्दी भाषामा पनि लेखेछु । मैले हिन्दीमा लेखेको कविता भारतको प्रतिष्ठित पत्रिका कादम्विनीको सन् १९८७ को जूनमा प्रकाशित भएको थियो ।

यसै वर्ष मैले वरिष्ठ आख्यानकार परशु प्रधानले सुरु गर्नु भएको(७ अध्याय लेखेर अधुरो राख्नु भएको) उपन्यास विसर्गलाई उहाँकै आग्रहमा पूरा गर्ने अवसर पाएँ, १८ अध्याय थपेर । अव त्यो २५ छोटा अध्यायहरूको सानो उपन्यास तयार भएको छ र प्रकाशनको तरखरमा छ ।

मैले १७ वर्ष अघि देखि सामाग्री सङ्कलन गरेर जीवनी लेख्नका लागि गरेको तयारी अनुसार सन् २०१८ मा मैले पारिजातको जीवनी लेख्न सुरु गरेँ । ३५,००० शब्दहरू लेखिइसकेका छन् र छिट्टै पूरा गर्ने अठोट छ । यो मेरो यौटा महत्त्वपूर्ण लेखन मानेको छु । त्यस्तै यसपालि एक हप्ता जापान जाँदाको यात्रानुभूति टुप्लुक्क टोकियो पनि झन्डै समाप्तिको सँघारमा पुगेको छ, नियात्रा पुस्तक ।

म विश्व साहित्य अध्ययनको साथै अनुवादमा पनि रुचि भएको व्यक्ति हुँ । विगतमा मैले प्रशस्त अनुवाद गरेको छु । यस वर्ष मैले मधुपर्कलाई सम्पादक मित्र जयदेव भट्टराईको आग्रहमा डेनिस कथा अङ्ग्रेजीबाट अनुवाद गरेँ र मधुपर्कमा प्रकाशित भयो । जापानी कवि तामुरा रियुचीको कविता अङ्ग्रेजीबाट अनुवाद गरेँ, तर प्रकाशित भएको छैन र कतै दिएको पनि छैन ।

यसपालि अर्थात् सन् २०१८ मा म झन्डै साँढे ३ महिना नेपाल बसाइको क्रममा धेरै साहित्यिक समारोहहरूमा सरिक हुन पाइयो । गुञ्जनको गोष्ठी, लघुकथा समाजको १०औं वार्षिकोत्सव, मदन भण्डारी साहित्य कला प्रतिष्ठानको ३ दिने हिमवत् साहित्य कला सम्मेलन, जापानमा भानु जयन्ती, हजार हाइकुको विमोचन, विमल वैद्यको कविता सङ्ग्रहको विमोचन, साहित्य कला प्रतिष्ठानको वार्षिकोत्सव, सविता श्रेष्ठ वेहोसीको कथा सङ्ग्रहको विमोचन लगायत थिए ।

गत वर्ष नै मैले वासु शशी स्मृति पुरस्कार ग्रहण गरेँ । जापानमा अनेसास जापानबाट र विश्व नेपाली प्रज्ञा प्रतिष्ठानबाट सम्मान ग्रहण गरेँ ।

सर्वनाममा हरेक महिना हुने हामीमा कविता वाचनको अवसर पनि जुट्यो यसपालि नै । र सबैभन्दा महत्त्वपूर्ण, मेरो नयाँ उपन्यास लिभिङ टुगेदरको प्रकाशन विएन पुस्तक संसारबाट भयो र यो उपन्यास जापानको टोकियो र काठमाडौँमा विमोचन भयो । अमेरिकाको विस्कानशीन राज्यको म्याडिसनमा परिचर्चा कार्यक्रम पनि भयो ।

वर्षको अन्ततिर २३ डिसेम्बरमा जिविएलओले एटलाण्टामा आयोजना गरेको एक दिने साहित्यिक कार्यक्रम धेरै हिसाबले महत्त्वपूर्ण थियो । धेरै भुटानी नेपाली स्रष्टाहरूसँग अन्तरङ्ग हुन पाइयो । धेरै स्ष्टाका पुस्तकहरू पाइयो र रचना वाचनको स्वाद लिन पनि पाइयो । त्यसले झन् लेख्नका लागि थप ऊर्जा प्राप्त भएको अनुभव भयो ।

यस्तो अनुभव हुन्छः वास्तवमा म लेख्न नै जन्मेको रहेछु । हो, त्यसैले लेखिरहन्छु आजीवन, बाचुन्जेल । निरन्तर । निरन्तर ।