अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको दसैँ तिहार शुभकामना साँझ सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असोज २९ गते १०:११ मा प्रकाशित

कोलोराडोमा रहेको पुरानो नेपाली संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालले दसैँ तथा तिहार को शुभ उपलक्ष्यमा “दसैँ तिहार शुभकामना साँझ २०७५” सम्पन्न गरेको छ । अमेरिकाको कोलोराडो राज्यमा आफ्नो संस्कृति र परम्परालाई प्रवर्धन र संवर्धन गर्ने उद्देश्य साथ स्थापना भएको रक्की माउन्टेनले दसैँ तथा तिहार शुभकामना साँझको आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, बिआरटी नेपालका सल्लाहकार तथा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्र लुइटेल र रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा नेपाली तथा अमेरिकन राष्ट्रिय गान पनि बजाइएको थियो । 

शुभकामना मन्तव्य दिँदै कार्यक्रमका प्रमुख अतिथि डा. लुइटेलले नेपाली भाषाका विषयमा कुनै विवाद हुन नहुने र यसको नियम अनुसार सबैले चल्नु पर्ने कुरामा जोड दिनु भएको छ । उहाँले भन्नुभयो, “नेपाली भाषा जाती अनुसारको भाषा छन् तर हाम्रो साझा भाषा नेपाली हो । भाषा र जातीको आधारमा हामी नेपाली हौ र सधैँ नेपाली नै रहने छौ भनेर हामीले गर्व गर्नु पर्ने हुन्छ । नेपालमा भाषा बिगारी रहेका सन्दर्भमा तपाईँहरू अर्कै मुलुकमा बसेर पनि आफ्नो धर्म भाषा जोगाउने कोसिस गरी रहनु भएको छ त्यसको लागि म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु । ब्यानरमा भएको नारा व्यवहारमा पनि प्रयोग गर्नुहोस् । सबै नेपाली मिलेर बस्नुस् मिलेर बस्न सक्नु हुन्न भने झगडा नगरी बस्नुस् ।” 

दसैँ तथा तिहार शुभकामना साँझमा दसैँ तथा तिहारको लागि विशेष परिकार बनाइएका थिए भने सांस्कृतिक साँझमा विविध कोसेलीहरू प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष विनोद त्रिपाठीले प्रमुख अतिथि, विशेष अतिथि लगायत सम्पूर्ण उपस्थितिलाई धन्यवाद दिँदै हामीले हाम्रो चाड पर्वमा नेपालमा के गर्थ्यौ र हाम्रो आफ्नो संस्कृति के हो भन्ने बारे यहाँ झाल्कियोस भन्ने मुख्य चाहना रहेको र यही उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको प्रस्ट पार्नु भएको थियो । 

सांस्कृतिक कार्यक्रमको सुरुवात श्रीजा आचार्यको ल्याङ ल्याङ बोलको गीतको नृत्यबाट सुरु भएको थियो । त्यसै गरी गायिका सम्झना पाण्डेले नाच्छु फिरिरी र अजम्बरी पिरती बोलको गीत गएर दर्शकलाई सुनाएकी थिइन भने दिनेश कार्कीले ए साइली र अल्झेछ क्यार पछ्यौरी तिम्रो चियाको बोटमा भनी गीत सुनाएका थिए । अर्की गायिका इसा कार्कीले आफ्नै रचना सङ्गीत भएको म नेपालकी छोरी र मेरो चञ्चले बानीले भन्ने गीत सुनाएकी थिइन ।

त्यस्तै कार्यक्रमका मुख्य आकर्षक गायक दीपेश किशोर भट्टराईले दसैँ तथा तिहारको शुभकामना दिँदै मलाई माफ गरी देऊ, तिमीसँग मन मिलाउन सक्छु, एकै नजरमा माया बसो है, गर्नुछ रमाइलो र भेटको उन जस्तो गीत गाएर दर्शकलाई नचाएका थिए । 

त्यसै गरी उक्त कार्यक्रममा अभ्यास भट्टराई, अनिसा भट्टराईले लाको एउटा जाली रुमाल भन्ने गीतमा, गीता कठायतले म त गाउँकी गोरी भन्ने गीतमा, प्रज्ञा गहतराज र ज्योति सुनुवारले उडु उडु मन लाग्छ भन्ने गीतमा नृत्य गरेका थिए ।

गायन तथा नृत्यमा भागलिने सबै कलाकारहरूलाई प्रमुख अतिथि डा. लुइटेल र संस्थाका अध्यक्ष त्रिपाठीबाट प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि डा. लुइटेल र विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनियुक्त अध्यक्ष श्री राधेश्याम लेकालीलाई अध्यक्ष विनोद त्रिपाठीले खादा पहिराई सम्मान गरेका थिए । संस्थाका महासचिव टिका पौडेलले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष मणि बस्नेतले गरेका थिए ।

कोलोराडोका विभिन्न संघसंस्थाहरुका अध्यक्ष र पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको बिआरटी नेपालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

मोर फोटोहरु

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू