अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

गायक दीपक बज्राचार्यको धरानमा लाइभ कन्सर्ट सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ २५ गते १७:५३ मा प्रकाशित

धरान र गितार बजाउँदै पब्लिक स्कुलको मैदानमा शनिवार साँझ आयोजित टुबोर्ग मेगा लाइभ कन्सर्टको स्टेजमा चढेपछि गायक दीपक बज्राचार्य आफ्नो प्रसंसकहरुको भीडको आवाजले प्रफ्फुलित मुद्रामा काली काली हिस्सी परेकी गाउँदै स्टेजमा झुल्किए । 

डेढ दशकको अन्तरालमा धरानको स्टेजमा देखा परेका गायक दीपक बज्राचार्यलाई सुन्न हजारौँको भिड जम्मा भएको थियो । ५ बजे सुरु हुने भने पनि ७ बजे देखि मात्र दर्शकहरूको भिड बढ्न थालेको कार्यकर्ममा गायक दीपकले यहाँ त ८ बजे देखि मात्र कन्सर्ट सुरु हुन्छ भन्ने सुनेको थिए साँचै हो रैछ भन्दै आफ्ना गीतहरू गाउन सुरु गरे ।

उनले काली काली हिस्सी परेकी, ओ अमिरा, मायाको डोरीले, जाऊ फर्केर जाऊ, म कुनै ऋतु हैन, सानी र अहिले निक्कै चर्चामा आएको गीत मन मगन लगायत एक दर्जन बढी गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई मन्त्र मुग्ध पारे । उनको प्रस्तुतिमा उनका गीतहरू सँगै बिशेषत: गितार, बाँसुरीको सम्मिस्रण तथा लाखे र धामीको आकर्षक नृत्यले पनि नौलोपनको स्वाद दर्शकहरूले पाएको देखिन्थ्यो । उनका हरेक गीतहरूमा आएको वान्स मोरको हुटिंगले उनी रात भर पनि गाउन पछि नपर्ने मुडमा देखिन्थ्ये । 

कार्यक्रममा नेवा देय दबुको तर्फबाट नेवारी मौलिक सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने नेवा देय दबुले नेवारी संस्कृतिलाई आफ्नो सङ्गीत मार्फत अन्त्ररास्ट्रीय स्तरमा पुर्याएकोमा गायक दीपक बज्राचार्यलाई सम्मान गरेको थियो भने धरानका चर्चित गायक डिल्ली फोम्बोले बिम्क्स ब्याण्डको साथमा म माया लाउदीन, माइली, चिटिक्क, रातकी रानी लगायतका आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरूको ताली पाएका थिए । त्यस्तै कथा काठमाडौँको प्रचारमा आएका पर्याप्त बुलेट फ्लो को प्रस्तुति पनि रोचक नै रह्यो । 

कार्यक्रमको सञ्चालन इक्सा मादेन र सुरेश राईले गरेका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा टुबोर्ग मेगा लाइभ कन्सर्ट को दोस्रो संस्करण आयोजना भएको हो । गत वर्ष गायक एड्रीन प्रधान र धराने गायकहरूको प्रस्तुतिमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ आयोजना भएको थियो । यो वर्ष भने धरानमा शनिवार र पथरीमा माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्टको सहकार्यमा शुक्रबारनै मेगा लाइभ कन्सर्ट आयोजना भएको थियो । 

प्रतिक्रिया