अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यालयको उद्घाटन

बिआरटीनेपाल २०७५ भदौ २५ गते १२:०९ मा प्रकाशित

प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न सङ्घ/ संस्थाहरूको स्थापना गर्नु भए पनि अधिकांश सङ्घ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सीमित रहेको देखिन्छ ।

तर, भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईले एक भव्य समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यालयको भव्यरूपमा उद्घाटन गर्नु भएको छ ।

उद्घाटन समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी सङ्घ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहको शुभारम्भमा लामा गुरुहरूबाट शुभ समारोहको पुजा अर्चना गरी औपचारिक कार्यक्रमको सुरुवात गर्नु भएको थियो । 

उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङले गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि कार्यवाहक महाबानिज्यदुत पुष्पराज भट्टराईले नेपाली डायस्पोराका सङ्घ संस्थाहरूले परम्परागत शैली भन्दा फरक ढङ्गले आफ्नो गतिविधिहरू सञ्चालन गर्नु पर्ने र प्रवासमा रहेको नेपालीहरूले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरूको निम्ति भलाइ हुने भनाई राख्नु भएको थियो । कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटिलाई मुद्दा बनाएर वर्तमानमा त्यसको क्षतिपूर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका सङ्घ/संस्थाहरू लागी परेमा हाम्रो समाज द्रुतगतिमा समृद्ध बन्न सक्ने धारणा भट्टराईले राख्नु भयो ।

तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका सङ्घ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिबद्धता जनाउनु भयो । नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मूलधारको राजनीतिमा समावेश गर्न हाम्रो दोस्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उहाँले स्पष्ट पार्नु भयो ।

उद्घाटन समारोहमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व सञ्जालका सभापति विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, सङ्गठन विभाग प्रमुख वेद खरेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा सङ्घ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ बाइबा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एन्ड पुनम फाउन्डेसनका अध्यक्ष प्रेम थोकर, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका सह कोषाध्यक्ष पवन योञ्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुतवास न्युयोर्कका कन्सुलर क्रिशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्द्धन समितिका संयोजक जाङबु शेर्पा गोले, न्यु योर्क समाचार अनलाइन न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली सङ्घ, अमेरिका न्यु योर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल विद्धार्थी सङ्घका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेको थियो। कार्यक्रम तामाङ समाज अमेरिकाका सचिव विनिता तामाङले सञ्चालन गर्नु भएको थियो । 

प्रतिक्रिया