अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

पोखरा उद्योग बाणिज्य संघमा उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:२९ मा प्रकाशित

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि समावेशी व्यवसायी समूह र लोकतान्त्रिक समूह दुई प्यानल आमनेसामने हुने भएका छन् । दामु अधिकारीको नेतृत्वमा समावेशी व्यवसायी समूह र रवीन्द्रबहादुर प्रजूको नेतृत्वमा लोकतान्त्रिक समूहले प्यानलमा उम्मेदवारी दर्ता गराएका हुन् ।

संघको आउँदो असोज ५ र ६ गते हुने ३२ औं महाधिवेशनमा समावेशी समूहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले र लोकतान्त्रिक समूहलाई कांग्रेसले समर्थन गरेको छ । पोखरा महानगरपालिका ३ का वडाध्यक्ष समेत रहनुभएका प्रजु वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष र अधिकारी वर्तमान कार्यसमितिमा महासचिव रहनुभएको छ ।

समावेशी व्यवसायी समूहले ११ बजे र लोकतान्त्रिक समूहले दिउँसो ३ बजे उम्मेदवारी दर्ता गरेको थियो । अधिकारी प्यानल प्रस्याङबाट सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै संघको कार्यालयमा रहेको निर्वाचन सचिवालयमा पुगेको थियो भने प्रजू प्यानल चिप्लेढुंगास्थित पोखरा ट्रेडमल अगाडिबाट महेन्द्रपुल, पालिखेचोक हुँदै कार्यालय पुगेको थियो । बरिष्ठ उपाध्यक्षमा प्रजू प्यानलबाट नारायण कोइराला र अधिकारी प्यानलबाट यदु अधिकारीले उम्मेदवारी दिएका छन् । उद्योगतर्फको उपाध्यक्षमा अधिकारी प्यानलबाट गीता तिवारी गौतम र प्रजू प्यानलबाट बिन्दु सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा अधिकारी प्यानलबाट यमनाथ पौडेल र प्रजू प्यानलबाट पवन प्रजापति उम्मेदवार बनेका छन् ।
महासचिवमा अधिकारी प्यानलबाट किसान सुनार र प्रजू प्यानलबाट अर्जुन पोखरेल, कोषाध्यक्षमा अधिकारी प्यानलबाट प्रेम भुजेल र प्रजू प्यानलबाट सुरेन्द्रमान बिजुक्छे, उप(महासचिवमा अधिकारी प्यानलबाट सीता बराल र प्रजू प्यानलबाट चिनु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

खुल्ला १० सदस्यमा २१ जनाको उम्मेदवारी परेको छ । वस्तुगततर्फ ४ सदस्यका लागि ८ जनाको उम्मेदवारी दिएका छन् । कर्पोरेट २ सदस्यका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । सबैको स्वतन्त्र उम्मेदवारी भनिए पनि समावेशी व्यवसायी समूह निकट र लोकतान्त्रिक समूह निकट भएर उम्मेदवारी दिएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू