अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

गैर आवासीय नेपालीले विमति राखेको नागरिकता विधेयकलाई उनीहरूको मर्म अनुकूल संशोधन गर्ने – माधव नेपाल

बिआरटी नेपाल सम्बादाता,  शिकागो २०७५ भदौ १९ गते ०:३२ मा प्रकाशित

“नेपाली समुदायको लागी एकता” भन्ने नाराका साथ अमेरिकाका तीन सबैभन्दा पुराना संस्थाहरू एएनए, नासा र आन्माले संयुक्त रूपमा पहिलो पटक नेपाली नेशनल कन्भेन्स को आयोजना गरे । गत अगस्ट ३१ शुक्रवार सुरु भएको उक्त सम्मेलन आज सोमबार बिहानको २ बजे सम्पन्न भएको छ । 

शुक्रवार विभिन्न कार्यक्रमका साथ सुरु सम्मेलनको शनिवार प्रमुख अतिथि एवं नेपालका पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए भने सञ्चालन आयोजक संस्थाका महासचिवहरू डा दिवाकर दाहाल, कृष्ण श्रेष्ठ र विजयराज भट्टराईले गरेका थिए ।

उद्घाटन सत्रमा अधिकांश वक्ताहरूले तिन वटा संस्थाहरू, एएनए, नासा र आन्माले संयुक्त रूपमा पहिलो पटक आयोजना गरेको कार्यक्रम सबैको निमित्त उदाहरण बनेको र यसै गरी धेरै संस्थाहरू मिलेर कार्यक्रम गर्ने हो भने थोरै समय र मेहनतमा नेपाली समाजले निकै ठुलो प्रतिफल हासिल गर्न सक्ने बताएका थिए । 

त्यसै गरी धेरै वक्ताहरूले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विधेयकको बारेमा गुनासो गर्दै सच्याउनका लागी आग्रह गरेका थिए। समारोहको अन्तमा बोल्दै नेता नेपालले गैर आवासीय नेपालीले विमति राखेको नागरिकता विधेयकलाई उनीहरूको मर्म अनुकूल संशोधन गर्ने आफूले सक्दो सहयोग गर्नेप्रतिवद्धता समेत जनाए ।

अर्का अतिथि पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले सरकार समृद्धिको यात्रामा लागेको बताउँदै विदेशका नेपालीलाई सहयोगको लागी आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली पहिचानको निरन्तरलाइ अवरोध गर्ने नागरिकता विधेयक सच्याउनु पर्ने बताउँदै काँग्रेसले त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । 

नेपाली अमेरिकी डायस्पोराका प्राज्ञ, व्यवसायी र सामाजिक अभियन्ताहरूको भव्य उपस्थिति रहेको कार्यक्रममा अमेरिकाका लागी नेपाली राजदूत अर्जुन कार्कीले सम्मेलनले नेपाली एकता र भाइचाराको सन्देश दिन सफल भएको टिप्पणी गरेका थिए ।

सम्मेलनको मुख्य संयोजक एवं आन्मा अध्यक्ष बाला घिमिरे, नासा अध्यक्ष माधव ढकाल र एएनए अध्यक्ष मेदिनी अधिकारीले एकतालाई दिर्धकालसम्म लैजाने तयारी भइरहेको जानकारी दिँदा हलमा तालीको फोहोरा छुटेको थियो। 

उद्घाटन समारोहमा नेपालका सभासद् राजीव पहाडी, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, नेपाली अवैतनिक महाबाणिज्यदुत प्रेम राजा महत, ऋषि ढकाल, एनआरएनए युएसए अध्यक्ष केशव पौडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, नेजाका महासचिव किरण मरहट्ठा, प्राज्ञ तुल्सि धरेल, समाजसेवी खगेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए । 

‘समृद्ध नेपाल’ मा केन्द्रित रहेर गरिएको नेपाल फोरममा महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको बारेमा नेपाल फोरममा कार्यपत्र प्रस्तुत गरेका थिए । लगानी तथा रोजगार फोरम, महिला सशक्तीकरण फोरम, विज्ञान तथा प्रविधि फोरम, पर्यटन सम्बन्धी सेमिनार र कानुनी फोरमहरू पनि सञ्चालन गरिएको थियो । सम्मेलनमा विभिन्न फोरम तथा सेमिनारहरू सञ्चालन गरिएको थियो । कार्यक्रमको आकर्षणको रूपमा भने नेपाल फोरम, हेल्थ एन्ड एजुकेसन फोरम, विज्ञ फोरम आदि रहेका थिए । 

कन्भेन्सनको पहिलो दिन सम्पन्न मिटर एन्ड ग्रिटमा नेपालबाट आएका वरिष्ठ नेताहरू तथा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति थियो । सम्मेलनमा लोकप्रिय कलाकारहरू प्रमोद खरेल, हिमाल सागर, निमा रुम्बा र सत्य स्वरुप आचार्य, नेहा आचार्य, कर्मा ब्यान्ड र स्थानीय कालकारहरुले गित संगीत प्रस्तुत गरेका थिए भने खेलकुद र साहित्य प्रतियोगिताहरू पनि सञ्चालन गरिएको थियो । सम्मेलनमा एएनए, नासा, आन्मा नेशनल कन्भेन्सनको सम्बन्धमा एक संयुक्त प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । 

सम्मेलनको अर्को आकर्षणको रूपमा ‘नेपाली पपुलर फिल्म अवार्ड’ सोमबार बिहान १:३० बजे सम्म चलेको थियो । झन्डै ८५० दर्शकका माझ नेपाली चलचित्र सङ्घले सन् २०१८ को सेन क्षेत्रका विभिन्न विधाका उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । जसमा भुवन के सीलाई युग नायक तथा सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । यस अवार्ड कार्यक्रम नेपाल मोसन पिक्चर्स एसोसिएसनको सहकार्यमा सम्पन्न भएको हो । 

सम्मेलनमा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट प्रदान गरिएको प्रेसिडेन्ट भोलेन्टिएर्स अवार्ड पनि हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया