अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

पूर्वराजदूतको हत्या: १५ दिनदेखि तीन कामदार हिरासतमा !

बिआरटीनेपाल २०७५ भदौ १८ गते १९:४६ मा प्रकाशित

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन ।

दुई सातासम्म प्रहरी अनुसन्धान झाको घरमा काम गर्ने तीन कामदारमाथि नै घुमेको छ । झाको घरमा काभ्रे स्थायी घर भएका ४८ वर्षिय कान्छाराम तामाङ घरेलु कामदारका रुपमा कार्यरत थिए । बेलुका सुरक्षागार्डको काम पनि उनले नै गर्दथे । गेट नजिकैको टहरोमा सुत्दथे ।

प्रहरीको सबैभन्दा ठूलो आशंका उनैमाथि छ । त्यस्तै सो घरमा हरेक दिन बिहान मालीका रुपमा काम गर्ने ५३ वर्षिय आइतेसिंह तामाङ र गोरखाका ५६ वर्षिय जयबहादुर गुरुङलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि झुटो बोलेको पत्ता लाग्ने ‘पोलिग्राफ टेस्ट’ समेत भइसकेको छ । तर, हत्यामा संलग्नताको कुनै तथ्य भेटेको छैन । कान्छारामको पोलिग्राफ टेस्टमा कैफियत भेटिएको स्रोत बताउँछ ।

सो घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको र थप केही कुरा बुझ्नुपर्ने देखिएकाले कामदारलाई थुनामै राखिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह बताउँछन् । स्रोतका अनुसार घटनास्थलमा भेटिएको ‘फिंगरप्रिन्ट’ लगायतको रिपोर्ट नआएसम्म उनीहरुलाई थुनामै राख्ने प्रहरी तयारी छ ।

अनुसन्धानमा आबद्ध प्रहरीको भनाईमा घटनामा घर बाहिरका सदस्यको संलग्नता ज्यादै न्यून देखिन्छ । जसकारण प्रहरीले कामदार बाहेक अन्य व्यक्तिमाथि अनुसन्धानमा चासो दिएको छैन । प्रहरीको तालिमप्राप्त कुकुरले पनि घटनामा घरभित्रकै व्यक्तिको संकेत गरेको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू