अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

एनआरएन र नेजाबीच सहकार्यमा जोड

बिआरटीनेपाल २०७५ भदौ ४ गते १८:०२ मा प्रकाशित

ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्दाहरू सम्बोधनका लागि मिडियासँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिएको छ । 

प्रवासमा रहेका नेपालीहरूका समस्याहरू, समाधानका लागि गर्नुपर्ने पहल, जनचेतनाका कार्यक्रमहरू सदस्यहरू माझ पु¥याउन मिडिया नै सहज र सशक्त माध्यम भएकोले त्यसका लागि नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) सँगको सहकार्यमा एनआरएनले जोड दिएको छ । ‘नेजा र एनआरएन अमेरिका सँगसँगै जानुपर्छ, तबमात्र यहाँ रहेका नेपालीहरूलाई के गर्न आवश्यक छ भन्ने विषयमा इस्युहरु पहिल्याउन सहयोग पुग्छ,’ एनआरएन अमेरिकाका कार्यवाहक अध्यक्ष सुनिल शाहले भने ।

आइतबार नेजाको नवनिर्वाचित टिम, एनआरएन र स्थानीय सामुदायिक संस्थाहरूबिच ड्यालसको युलेसमा आयोजित अन्तरक्रिया कार्यक्रममा कावा अध्यक्ष शाहले एनआरएनले पाउने भनिएको नेपाली नागरिकता लगायत सवालमा मिडियाले खेलेको भूमिका असाध्यै सहयोगी भएकोले सहकार्य अझै प्रगाढ रूपमा हुनुपर्नेमा जोड दिए।
‘हामी अमेरिकामा रहेका नेपाली पत्रकारको संस्था नेजासँग सहकार्यका लागि लालायीत छौँ,’ शाहले भने । 

त्यस अवसरमा नेजाका नवनिर्वाचित अध्यक्ष सुदीप पन्तले अमेरिकामा रहेर सञ्चारकर्म गर्दै आएका सबै पत्रकारहरू एनआरएन भएकाले समुदायलाई जोड्ने काममा तनमनले सबै लागिरहेको प्रष्ट्याए । ‘यहाँ रहेका भत्किएका नेपालीमानलाई जोड्न नेजा तयार छ । त्यसका लागि नेजाका सबै सदस्यहरू तत्पर छन्,’ पन्तले भने ।

अध्यक्ष पन्तले नेजा पनि अमेरिकामा एउटा सामाजिक संस्था रहेकोले समुदायका गतिविधिलाई संसारभर फैलाउने काम गरेर, समुदायलाई चेतनामुलक सामाग्रीहरू दिएर निस्स्वार्थ रूपमा सहयोग गरिरहेकोले त्यो तथ्यलाई नभुल्न आग्रह गरेका थिए । ‘हामी आचार संहिता बनाएर यहाँ रहेका पत्रकाहरुलाई यसो लेख, उसो लेख भनेर बाँध्न सक्दैनौँ, त्यो हाम्रो दायराभित्र पनि पर्दैन । तर समुदायले को पत्रकारले कस्तो सहयोग गरिरहेको छ भन्ने बारेमा मूल्याङ्कन भने गर्नै पर्छ,’ उनले भने ।

एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकार हरिबोल भण्डारी, गोविन्दकुमार श्रेष्ठ, उपाध्यक्षद्वय महिला उमा थापा र रामकुमार सुवेदी, सचिव होमनाथ गौतम, महिला संयोजक इन्दिरा त्रिपाठी, प्रवक्ता विनोद तिवारी, बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, डा. अर्जुन बञ्जाडे लगायतले नेजा र सञ्चारकर्मीसँग राखिएको अपेक्षाका बारेमा धारणा राखेका थिए ।

त्यस अवसरमा स्थानीय सामुदायिक सङ्घसंस्थाका प्रतिनिधिहरूले पनि नेपाली मिडिया र सञ्चारकर्मीहरूले खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए । त्यस क्रममा एएनएका महसचिव विजयराज भट्टराई, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, ड्यालस एभरेष्ट लायन्स क्लबका बिएन पन्त, नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष मनोज सिग्देल, प्रवासी मञ्चकी उपाध्यक्ष यमुना भट्टराई, थलराज पन्त लगायतले मिडियाबाट राखिएको अपेक्षाका बारेमा धारणा व्यक्त गरे । सिग्देलले अमेरिकामा रहेका नेपाली भाषी मिडियाहरूले राजनीतिक समाचारलाई मात्र प्राथमिकता दिँदै आएकोले आर्थिक–सामाजिक समाचारलाई अझै बढी स्थान दिन आग्रह गरेका थिए ।

एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीद्वारा सञ्चालित कार्यक्रममा नेजाका उपाध्यक्ष विकासराज न्यौपाने, महासचिव किरण मरहट्ठा, क्षेत्रीय संयोजक रामचन्द्र भट्ट, सचिव सुरज भण्डारी, स्पेसखबर अनलाइनका प्रतिनिधि सुरेशचन्द्र पोखरेल लगायतले अमेरिका रहेर गरेको पत्रकारितालाई सामुदायिक सेवाको एउटा पाटोका रूपमा लिइदिन आग्रह गरे । नेजाले अमेरिकाका नेपाली समुदायलाई परेको पीडामा एकाकार भएर दुःख मनाएको र उपलब्धिमा खुसी हुँदै आएको समेत उनीहरूको धारणा थियो । 

त्यस अवसरमा नेपालबाट आएका पूर्व सिंचाईमन्त्री दीपक गिरी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, तरुण दलका नेता प्रगतिमान रञ्जित, नेपाली काँग्रेस सिन्धुलीका सभापति तथा पूर्व पत्रकार उज्वल बराल लगायतले पनि सभ्य समाज निर्माणका लागि मिडियाको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिएका थिए ।

पत्रकारहरूले आर्थिक लेनदेनका आधारमा समाचार लेख्ने, लुकाउने जस्ता घटना अमेरिकामा पनि हुन लागेको भन्दै केही सहभागीहरूले गुनासो गरेका थिए ।

थापा फर्किए नेजामाः
यसैबिच विगत दुई वर्षयता नेजासँग पूर्ण रूपमा सम्बन्ध विच्छेद गरेका पूर्व प्रवक्ता सूर्य थापाले अब नेजामै सक्रिय हुने बताएका छन् ।

‘विगतमा नेतृत्वमा रहेका साथीहरूको गतिविधि, चुनावी दौरानमा देखिएका घृणित कार्यले गर्दा म लगायत धेरै साथीहरूले नेजा परित्याग गरेका थियौँ,’ थापाले भने । नेजाको नयाँ नेतृत्वबाट अमेरिकामा रहेको नेपाली समाजका लागि रचनात्मक कार्य हुने सङ्केत देखेर आफू फर्किएको थापाले घोषणा गरे ।

‘नेजाबाट ठुलो अपेक्षा कसैले नराखौँ, समुदायको लागि सुसम्बन्ध कायम गर्दै आपसी मित्रता, सद्भाव अभिवृद्धि यसले गर्ने हो,’ थापाले भने । उनको नेजामा पुन सकृयताले अमेरिकामा नेजा अझै दह्रो हुनेछ ।

दुई वर्ष अघि लसएन्जलसमा भएको सम्मेलनपछि थापाले सदस्यता समेत नवीकरण गरेका थिएनन् । विगतमा न्यूयोर्कबाट ह्वाइट हिमाल टिभी, अनलाइन सञ्चालन गरेर नेपाली सञ्चारकर्मीबिच बेग्लै छवि बनाएका थापा विगत डेढ वर्षदेखि टेक्ससमा बस्दै आएका छन् । उनले दुई महिना अघिबाट टेलिभिजन कार्यक्रम ‘यु स्टार्ट अगेन’ सञ्चालन गरिरहेका छन् । जुन नेपाल टेलिभिजनबाट पाक्षिक रूपमा प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया