अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

अष्टिनमा नेपाली सामुदायिक केन्द्र बनाउन छलफल, रकम सङ्कलन सुरु

केसी शेर, अष्टिन २०७५ साउन २८ गते ९:०६ मा प्रकाशित

अमेरिका टेक्ससको अष्टिनमा नेपाली सामुदायिक केन्द्र स्थापनाका लागी आइतबार छलफल गरिएको छ । लामो समयदेखि अष्टिनमा नेपाली सामुदायिक केन्द्र बनाउने विषयमा छलफल भइरहेपनि यस विषयमा ठोस काम हुन नसकिरहेको बेला आइतबारको छलफलबाट सामुदायिक केन्द्रका लागी चाहिने रकम सङ्कलन समेत सुरु गरिएको छ । पहिलो चरनमा सामुदायिक केन्द्र स्थापनाका लागी आवश्यक अनुमान गरिएको करिब ४ लाख डलर रकम सङ्कलन आजैबाट सुरु गरिएको छ । सामुदायिक केन्द्र स्थापनाका लागी ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्स को पहलमा ग्यान्सका पूर्व अध्यक्ष गेहेन्द्र केसीको संयोजकत्वमा एक समिति बनाइएको थियो ।

समितिले आइतबार अष्टिनवासी नेपालीहरूसँग छलफल गरेर सामुदायिक केन्द्रका लागी सहयोग सङ्कलन सुरु गरेको हो । आइतबार सम्पन्न छलफलमा उपस्थित अष्टिनवासी अग्रज नेपालीहरूले सामुदायिक केन्द्र स्थापनाका लागी सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेका थिए । आजैबाट सहयोग रकम सङ्कलन गर्न सुरु गरिएकोमा पहिलो दिन छलफल गरिएको स्थानमा रकम सङ्कलन भएको समितिका संयोजक गेहेन्द्र केसी ले जानकारी दिनुभयो । सबै अष्टिनवासी नेपालीहरुलार्य सामुदायिक केन्द्रप्रति अपनत्व हुने किसिमले २ सय ५० डलर प्रति परिवार सहयोग रकम सङ्कलन गर्ने लक्ष्य लिइएको भए पनि सहयोग गरेको सबै रकम स्वीकार गरिने छ भने १ हजार डलर भन्दा माथिको रकम सहयोग गर्नेहरूको नाम सामुदायिक केन्द्रको शिलालेखमा उल्लेख गरिने संयोजक केसीको भनाई रहेको छ ।

चार पाँच महिना भित्रमा केन्द्रका लागी आवश्यक अनुमान गरिएको रकम सङ्कलन गरिने लक्ष्य सहित काम सुरु गरिएको र हरेक हप्ता हप्ता भरी सङ्कलन भएको रकम र सो रकम सहयोग गर्ने व्यक्तिको नामावली सार्वजनिक गरिने पनि बताइएको छ । सहयोग सङ्कलन गर्न समितिले बैङ्क खाता सञ्चालनमा ल्याएको छ भने ग्यान्सको वेबसाइटबाट पनि सहयोग गर्न सकिने व्यवस्था गरेको छ । यो सँगै अष्टिन र आसपास नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिहरूलाई हाते रसिद वितरण गरेर समेत रकम सङ्कलनलाई तीव्र पारिने योजना बनाइएको छ । यस पटक सक्दो चाँडो अष्टिनमा नेपाली सामुदायिक केन्द्रको सपनालाई मूर्त रूप दिन लागिपरेका छौँ समिति संयोजक गेहेन्द्र केसीले भन्नुभयो यस्तो अवस्थामा सबैको साथको जरुरी छ । नेपालीहरूको बाक्लो उपस्थिति रहेका अमेरिकाका अधिकांश सहरमा आफ्नै नेपाली सामुदायिक केन्द्र स्थापना भइसकेका बेला अष्टिनमा पनि यसको लागी पहल थालिएको हो ।

प्रतिक्रिया