अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

विपतबारे प्रारम्भिक सूचना सङ्कलन व्यवस्थित हुने

बिआरटीनेपाल २०७५ असार ३२ गते १७:१८ मा प्रकाशित

विपद्पश्चात तत्काल सङ्कलन गरिने विपत् प्रारम्भिक द्रुत लेखाजोखा (IRA- Initial Rapid Assessment) को सरल विवरण सङ्कलन फारम र मोबाइल एप्लिकेशन तयार भएको छ ।

यो फारम र एप्लिकेशन गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा विज्ञहरू रहनुभएको प्राविधिक समूहको संयुक्त प्रयासमा तयार भएको हो । विपद्को क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग विभिन्न चरणमा भएको छलफल पछि यो एप्लिकेशन तयार पारिएको हो ।

हिजो राजधानीमा भएको एक कार्यक्रममा एप्लिकेशनको मुख्य विशेषता तथा फारममा भएका बुँदाबारे जानकारी दिइयो । गृह मन्त्रालयका उपसचिव एवम् विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखा÷राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यको अध्यक्षतामा बसेको परामर्श बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, युएनएफपीए, डीडब्लुसी, वल्र्ड एजुकेसन, एफएओ, विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी, युएनआरसीओ, सेभ द चिल्ड्रेन, सीसीडीआरआर, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ, डेनिस रेडक्रस, अमेरिकन रेडक्रस, इकेसोलुसन लगायतका सरोकारवाला निकायका ३१ प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

परिमार्जित फारम र यो एप्समा विपत् भएको २४ घण्टाभित्रका सूचना रेकर्ड गर्न सकिनेछ । यसले प्रभावित व्यक्तिको मूलभूत विवरण सहित, विपत् भएको स्थानको तत्कालीन अवस्था, यातायात तथा सडकको अवस्था, प्रभावितको सङ्ख्या, विद्यालय, अस्पतालको अवस्था, खाने पानी लगायतको अवस्थाबारे नक्शांकन सहित २४ घण्टाभित्रको सूचना निकाल्न सकिने र ती सूचनाहरू तत्काल केन्द्रीय सर्भरमा रेकर्ड हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यो एप्सको प्रयोग नेपाल प्रहरी, गाउँ तथा नगरपालिका प्रतिनिधि तथा स्थानीय रेडक्रस प्रतिनिधि लगायतले गर्न सक्नेछन् । एप्लिकेशनको प्रारम्भिक परीक्षणको काम छिटै सकिने र यसै वर्षादेखि मोबाइल एप्लिेकेशनबाट सूचना सङ्कलन गर्न सुरु गरिने बैठकमा जानकारी दिइयो ।

यो एप्सले विपत् भइसकेपछि सम्बन्धित स्थानमा गएर फारम भर्दा समय धेरै लाग्ने जसका कारण प्रभावितहरूले चाँडो उद्धार हुन नसक्दा आइपर्ने थप समस्याहरूको अन्त्य गर्नेछ । साथै सम्बन्धित विपत् प्रारम्भिक द्रुत लेखाजोखा फारम अनुसार सङ्कलित सूचनाले विपद्को प्रारम्भिक चरणमा उपयुक्त निर्णय लिने कार्यका लागि आधार तय गर्ने र विस्तृत रूपमा अतिरिक्त लेखाजोखा गर्नुपर्ने आवश्यकतालाई पहिल्याउनेछ । एप्लिकेशन तयारीमा अमेरिकन तथा डेनिस रेडक्रस, इको, इकेबाना सोलुसन प्रालि लगायतको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू