अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

स्विस बैङ्कमा नेपालीको झन्डै ३६ अर्ब रुपैयाँ

बिआरटीनेपाल २०७५ असार २२ गते २३:५४ मा प्रकाशित

स्विस बैंकहरुमा नेपालीले सन् २०१७ सम्म ३५ अर्ब ७२ करोड रुपैयाँ राखेको पाइएको छ । स्वीजरल्याण्डको केन्द्रीय बैङ्क– स्विस नेशनल बैङ्कले सार्वजनिक गरेको विवरण अनुसार स्विस बैंकहरुमा नेपालीहरूको सम्पत्ति ३२ करोड २८ लाख स्विस फ्रैंक रहेको छ । स्वीजरल्याण्डको केन्द्रीय बैङ्कले केही वर्षयता उसको देशका बैंकहरुमा रहेको रकमको विवरण सार्वजनिक गर्दै आएको छ । उच्च गोपनीयता रहने कारण स्विस बैङ्क विश्वभरका मानिसहरूको रोजाइमा रहने गरेको छ । विगतमा नेपालको राजपरिवारको स्विस बैङ्कमा खाता रहेको तथ्य चर्चामा आउने गथ्र्यो । तर पछि गोपनीयताका कारण व्यापारीदेखि राजनीतिज्ञसम्मले स्विस बैङ्कमा पैसा राख्ने गरेका छन् ।

खास गरी अकुत सम्पत्ति आर्जन गरेकाहरुले राज्यलाई छलेर आफ्नो सम्पत्ति लुकाउन स्विस बैङ्कमा राख्ने गरेका छन् । पछिल्लो दश वर्षमा नेपालबाट स्विस बैङ्कमा पैसा राख्नेहरु बढेका छन् । सन् २००८ मा स्विस नेशनल बैङ्कले सार्वजनिक गरेको विवरणमा नेपालीको सम्पत्ति कुल ८ करोड ६२ लाख स्विस फ्रैंक रहेको थियो । जानकारहरूका अनुसार, राजनीतिज्ञ, कर्मचारी र समाजका अन्य प्रभावशाली व्यक्तिहरूले अवैध ढङ्गले आर्जन गरेको रकम लुकाउने देखि व्यापारीले कर छल्न समेत स्विस बैङ्कमा पैसा राख्ने गरेका छन् ।

व्यक्तिको नाममा गोपनीयता हुने कारण स्विस बैंकहरु सबैको रोजाइमा पर्ने गरेको छ । नेपालबाट रकम बाहिर लैजान सहज नभएपनि यस्तो रकम हुन्डीका तथा आयातमा आवश्यकभन्दा बढी विलिङ गरेर स्विस बैंकहरुमा पुर्‍याइन्छ । कतिपयले भ्रष्टाचार, करछली, लागु औषध, फिरौती, मानव बेचबिखन, हातहतियारबाट अवैध तरिकाले आर्जन गरेको रकम समेत स्विस बैंकहरुमा पुर्‍याएर सम्पत्ति शुद्धीकरण गरेको भन्दै अमेरिकाले दबाब दिएपछि स्विस नेशनल बैङ्कले उसको देशका बैंकहरुमा कुन देशको कति पैसा छ भनेर विवरण सार्वजनिक गर्दै आएको छ । स्विस बैंकहरुमा सबैभन्दा धेरै रकम राख्नेहरुमा युरोप, अमेरिका, वेस्ट इण्डिज, फ्रान्स र जर्मनी प्रमुख छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू