अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

विवेकशील साझा पार्टीको “समता संवाद श्रृंखला” सुरु

बिआरटीनेपाल २०७५ असार १८ गते २२:०८ मा प्रकाशित

काठमाडौँ, विवेकशील साझा पार्टीले मानव अधिकार,सामाजिक न्याय,समावेशिता, तथा मानव मर्यादालाई केन्द्र बिन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला” सञ्चालनमा ल्याएको छ।

पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले सुरु गरेको अन्तरक्रिया शृङ्खलामा समानता,सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरूबारे मासिक अन्तरकृयात्मक बहस सुरु गरिएको विभागको प्रमुख समेत रहनु भएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताउनु भयो ।

श्रृंखलाको पहिलो प्रस्तुति प्रख्यात पुरस्कार “फ्रीडम फ्रम फियर” अवार्ड वाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रूपमा प्रस्तुत गरेर शनिवारबाट आरम्भ गरिएको छ । समता संवादमा आफ्नो प्रस्तुति राख्दै सामाजिक अभियानकर्ता चौधरीले ६ वर्षको उमेरदेखि कमलरी जीवनमा भोग्नु परेको हिंसा,दमन,विभेद देखि दासत्व मुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनुभव, भोगाई,सिकाई तथा प्रेरणादायी विचारहरू पस्कनु भयो । ‘समानताको लडाई सकिएको छैन, असमानता, विभेद र विकृति विरुद्ध खुलेर बोल्न,सकृयता देखाउन र अभियान सञ्चालन गर्न तपाईँ हामी एक जुट हुनै पर्छ, चौधरीको भनाई थियो ।

समारोहमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समानता बिनाको संवृद्धि दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशिता पार्टीको मुटु भएको संज्ञा दिनु भयो । अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिनु भयो ।

अन्तरक्रियालाई पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना, समता अभियानकर्ता प्रतीक क्षेत्री र नेहा मल्लले सहजीकरण गर्नु भएको थियो । अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला”को अर्को प्रस्तुति साउन दोस्रो साता हुने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू