अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

अनेसास अध्यक्ष (सन् २०१८-२०२०) गोवर्धन पूजाको घोषणा पत्रको पूर्ण पाठ

बिआरटीनेपाल २०७५ असार १० गते ५:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) कार्यसमिति (सन् २०१८ –२०२० ) को निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गोवर्धन पूजाको साझा घोषणा पत्र**

आदरणीय अनेसासका आजीवन सदस्यज्यूहरू ,
साहित्यकारज्यूहरू र नेपाली भाषा र साहित्यलाई माया/ सम्मान र प्रेम गर्नुहुने महानुभावहरू ,

नमस्कार,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कार्यसमिति (सन् २०१८ –२०२० ) निर्वाचनको सँघारमा छौँ । संस्था स्थापनाको उद्देश्य प्राप्तिका लागि र यसको मूल्य र मान्यताको नेपाली साहित्यमा योगदान पुर्‍याएका साहित्यिक व्यक्तित्व, सांगठनिक नेतृत्व र कुशल क्षमता भएका नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा समर्पित साथीहरूलाई समेट्दै र सहमतिमा लिएर जाने योजना सहित मेरो समूहको साझा प्रतिबद्धता सहर्ष सार्वजनिक गर्दछु ।

हाम्रा कार्य योजनाहरू :-

नेपालमा अनेसास:- दृष्टिकोण र भावी योजना :

१. नेपाली भाषा र साहित्यको मूल थलो नेपाल हो | नेपाललाई नै मियो बनाएर नेपाली साहित्य लेखिएका छन् , लेखिने छन् र लेखिनु पनि पर्छ | यसैले नेपाली साहित्यलाई विश्वका विभिन्न मूलकमा फैल्याउने र केन्द्रीकृत साहित्यिक गतिविधिलाई विकेन्द्रीकरण गर्ने सके वास्तविक नेपाली भाषा साहित्यको विकास र विस्तारको कार्ययोजनाले सफलता पाउने धारणा अनुरूप नेपालमा साहित्यिक सम्पर्क समितिको स्थापना गरिने छ |

क) परदेशबाट घरदेश आएका भाषा र साहित्यका सेवी र प्रेमीलाई सम्पर्क समितिले साहित्यिक चौतारीको शीतलता प्रदान गर्ने छ |

ख ) सम्पर्क समितिको मातहतमा रहने सम्पादन/ प्रकाशन समितिले परदेशबाट गएका साहित्यकारको कृति सम्पादन / प्रकाशन र वितरणमा व्यवस्था मिलाउने छ |

ग ) अनेसास मार्फत सम्पादित/ प्रकाशित कृतिलाई अनेसासका विश्वभर रहेका च्याप्टर माझ बिक्री वितरण गर्ने व्यवस्था मिलाइने छ , जसले सर्जकको प्रकाशन खर्चलाई केही राहत र कृतिलाई पाठकसम्म पुर्‍याउन मद्दत गर्ने छ |

घ ) नेपालमा हाल स्थापना भैरहेका शाखाहरूलाई व्यवस्थित गराइने छ , जसले गर्दा हाल नेपाल च्याप्टरलाई तिर्दै आएको सम्पूर्ण सदस्यता शुल्कको व्यवस्थापन हुने र सिधै अनेसास केन्द्रसम्म उनीहरूको पहुँच पुग्ने छ |

ङ्) साझा प्रकाशन , प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्व विद्यालयलगायत अन्य भाषा र साहित्यका केन्द्रसँग सहकार्य गर्दै कृति प्रकाशन , शोधग्रन्थ लेखन र साहित्यिक प्रशिक्षणको व्यवस्था मिलाइने छ |

२, नेपाली साहित्यको विश्वव्यापीकरणमा अनेसासको भूमिका:

अनेसास स्थापनाको मूल उद्देश्य अनुरूप नेपाली साहित्यको विश्वव्यापीकरणका लागि अनुवाद साहित्यका साथमा पाठकसम्म लेखकलाई पुर्‍याउनु पनि एउटा चुनौती हो | यसका लागि अनुवाद साहित्यका साथमा नेपाली साहित्यका पाठक समक्ष कृति पुर्‍याउने कार्य गरिने छ |

क ) अनुवाद सम्पादकको व्यवस्था गरी न्यूनतम पारिश्रमिकमा नेपाली साहित्यलाई अनुवाद गराउने व्यवस्था गरिने र प्रकाशन, वितरणको व्यवस्था मिलाइने छ |

ख) सामुदायिक पुस्तकालय र अन्तर्राष्ट्रिय पुस्तकालय मार्फत प्रकाशित कृति पाठक समक्ष पुर्‍याउने व्यवस्था गरिने छ |

ग) भाषाका दक्ष व्यक्तित्वलाई समेटेर अन्तर्राष्ट्रिय साहित्यकार समिति गठन गरिने छ | सो समिति मार्फत नेपाली साहित्यकार र विदेशी साहित्यकार बिच अन्तरक्रिया र गोष्ठी गरी साहित्यिक गतिविधिलाई सीमाहीन भूगोलमा बिस्तार गर्ने प्रयास गरिने छ |

३.
अनेसासलाई आर्थिक रूपमा सबल बनाउने सवालमा :

२७ बर्से युवा अनेसासको घरमा आर्थिक अभाव छ | आजसम्म जतिपनि सभा समारोह गरियो सबै आजीवन सदस्य शुल्कबाट गरियो , जसले गर्दा अनेसासलाई प्राप्त हुने एक मात्र आम्दानी कार्यक्रम गर्नमै लगानी गरियो |आगामी दिनमा यस्तो रकम कार्यक्रममा खर्च गरिने छैन |

क ) सभा समारोह गर्न आजीवन सदस्यता शुल्क प्रयोग गरिने छैन |

ख ) कार्यक्रम प्रयोजनका लागि दाताहरूलाई आव्हान गरिने छ र प्राप्त रकमको पारदर्शिताका लागि छुट्टै समिति गठन गरिने छ | कार्यक्रम सम्पन्न भएको ३५ दिन भित्र आय व्यय विवरण आजीवन सदस्य माझ सार्वजनिक गरिने छ |

ग) अनेसासको त्रैमासिक प्रकाशन अन्तर्दृष्टि लाई व्यावसायिक प्रकाशनको रूपमा प्रकाशन गरी कम्तीमा एक प्रकाशनमा एक लाख नेपाली रुपैयाँ सम्मको बचत थालिने छ |

घ) अनेसास मार्फत प्रकाशित कृति च्याप्टरमा बिक्री वितरण गरी आर्थिक सङ्कलन गरिने छ |

ङ्) आजीवन सदस्यहरूको जन्मदिन, विवाह र अन्य शुभकार्यमा गरिने खर्च /दानको केही अंश अनेसासको “फन्ड” मा लगाउन अनुरोध गर्ने र ५० अमेरिकी डलर भन्दा बढी दान गर्ने दाताहरूलाई अनेसासको कार्यक्रममा सम्मान पत्र प्रदान गरिने छ |

४. अनेसास र आजीवन सदस्य बिच सम्पर्क स्थापना गर्न |

क ) सामाजिक सञ्जाल मार्फत आजीवन सदस्य र अनेसास कार्यसमिति बिच अटूट सम्बन्ध स्थापनाको व्यवस्था गरिने छ |

ख) वेब साइटलाई नियमित अपडेट गरी सूचना सम्प्रेषण गरिने छ |

ग) फेसबुक मार्फत साहित्यिक ज्ञाता र ज्ञान आर्जन गर्न चाहने बिच सम्पर्क गराई साहित्य सिर्जनाका लागि अनुभव बाँड्ने अवसर र प्रशिक्षण दिने व्यवस्था मिलाइने छ |

घ) मासिक रूपमा प्रत्येक च्याप्टरबाट सर्जकलाई सहभागिता गराई सिर्जना वाचन गराइने छ |

ङ्) वार्षिक रूपमा अन्तर्राष्ट्रिय कविता प्रतियोगिता गराई कविलाई सम्मान र पुरस्कृत गरिने छ |

५ . च्याप्टर र केन्द्रबिचको सम्बन्धका बारेमा :

च्याप्टर भनेको केन्द्रको प्रमुख अङ्ग हुन् | यस सँगको सहकार्य विना केन्द्र सफल हुन सक्दैन| यसैले च्याप्टर बलियो भयो भने केन्द्र बलियो हुनेछ | यसैले च्याप्टर र केन्द्रबिच सुमधुर सम्बन्ध राख्न :

क) च्याप्टरले संयोजन गर्ने जुनसुकै कार्यक्रमको सभापति सोही च्याप्टरको अध्यक्षलाई बनाइने छ |

ख) च्याप्टरबाट प्रकाशित गरिने कृतिको सम्पादन / प्रकाशन र वितरणका लागि नेपाल सम्पर्क समिति मार्फत सहयोग गरिने छ |

ग) च्याप्टरमा आइ परेका समस्या समाधानका लागि सामाजिक सञ्जालमा निरन्तर केन्द्रका प्रतिनिधि र च्याप्टरका प्रतिनिधि बिच सम्पर्क सूत्रको व्यवस्था गरिने छ |

घ) हाल दुईदुई वर्षमा गरिँदै आएको च्याप्टर सम्मेलनलाई निरन्तरता दिँदै सम्मानलाई अझ सम्मानित र व्यवस्थित गरिने छ |

ङ्) च्याप्टरका अध्यक्षलाई समेटेर एउटा समिति बनाइने छ , जसले निरन्तर केन्द्र र च्याप्टर बिच वैचारिक सन्देश आदान प्रदान गरी अनेसासलाई नयाँ गति दिन सल्लाह , सुझाव र समीक्षा गर्ने कार्य गर्नेछ |

६ .पूर्व अध्यक्ष र सल्लाहकारको अनुभव र ज्ञानको सदुपयोग गर्न :

क ) पूर्व अध्यक्षहरूलाई समेटेर एउटा समिति बनाइने छ, जसले कार्यसमितिको कार्य योजनामा सहयोग , सुझाव र सल्लाह दिने छ |

ख) पूर्व सल्लाहकार, सल्लाहकार र पूर्व अध्यक्षहरूलाई सामाजिक सञ्जालमा समेटेर निरन्तर कार्यसमितिको सम्पर्कमा राखी सल्लाह , सुझाव र सहयोगको अपेक्षा राखिने छ |

ग) पूर्व सल्लाहकार र अध्यक्षहरूलाई कार्यक्रम हरूमा निमन्त्रणा गरी उचित सम्मान गरिने छ |

घ) च्याप्टर सम्मेलनको समयमा पूर्व अध्यक्ष हरूलाई आमन्त्रण गरेर अनुभूति सम्प्रेषण गर्न प्रेरित गरिने छ |

ङ्) पूर्व अध्यक्षहरू र सल्लाहकारहरूको कृतिलाई च्याप्टर मार्फत बिक्री वितरणको व्यवस्था मिलाइने छ |

सादर

गोवर्धन पूजा
अध्यक्ष उमेद्वारा (२०१८-२०२० )
अनेसास ,
सम्पर्क : ५०८-८४०-५८७४
इमेल : gpooja1970@gmail.com
बोस्टन , अमेरिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू