अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

विज्ञ भेला सनफ्रान्सिस्को २०१८ का निष्कर्षहरू

बिआरटीनेपाल २०७५ असार ३ गते ८:४२ मा प्रकाशित

सानफ्रान्सिस्को, गैर आवासीय नेपाली सङ्घ, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रूपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्को सहरमा भव्यताका साथ सम्पन्न भयो । भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत् बनाउने विषयमा भेला केन्द्रित थियो । 

नेपालमा संक्रमणकालिन अवस्थाको अन्त्य भई नयाँ राजनीतिक संरचना र स्थिर सरकार गठन भएको सन्दर्भमा यो सम्मेलनले नेपालको आर्थिक र सामाजिक विकासका योगदान दिने छ । विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेको विज्ञता, सिप र दक्षतालाई नेपालको आवश्यकता अनुसार कसरी उपयोग गर्न सकिन्छ भन्ने पहिचान गरी नेपाल सरकारसँग मिलेर अर्को बृहत् सम्मेलन आयोजना गर्ने पूर्व तयारीका रूपमा यो सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा विभिन्न ७ वटा विषयहरू शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय ऊर्जा, आर्थिक सामाजिक क्षेत्रसँग सम्बन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्र माथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरूमाथि छलफल भएको थियो ।

सम्मेलनमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवती प्रसाद भुसाल, अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कार्की, न्यूयोर्कका लागि महावाणिज्यदुत मधु मरासिनी तथा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरू डा. हेमराज शर्मा, हरिबोल भण्डारी लगायत एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रिय अभियन्ताहरुको सहभागिता थियो । कार्यक्रम एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीको संयोजनमा भएको थियो । एनआरएनए अमेरिकाको साधारणसभाको पुर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेला सम्पन्न भयो ।

कार्यक्रममा अमेरिका, क्यानडा, बेलायत, जापान, मलेसिया, जमर्नी, रसिया, साइप्रस लगायतका देशहरूबाट सहभागिता थियो । एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले लगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । विज्ञ भेलाको कार्यपत्र र प्रस्तुतिको संयोजन डा. रुद्र अर्यालको समूहले गरेको थियो । गैर आवासीय नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सिप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासका लागि उपयोग आवश्यक छ । तसर्थ एनआरएनए विदेशमा हुनुभएका विविध क्षेत्रका विज्ञहरूसँग सवन्वय गरेर पुलको रूपमा नेपाल सरकार, नीति निर्माता र निजी क्षेत्रसँग काम गर्न प्रतिबद्ध छ ।

नेपाल सरकारकारमा माननीय मन्त्री रविन्द्र अधिकारीले विज्ञ सम्मेलनको निष्कर्षलाई सरकारले आत्मसात् गर्ने प्रतिबद्धता गर्नुभएकाले हामीलाई थप हौसला मिलेको छ ।
गैर आवासीय नेपाली विज्ञहरूले विदेशमा आर्जन गरेको सिप, दक्षता, ज्ञान र अनुसन्धान दस्ताबेज लगायतको पहिचान गर्दै देशको समृद्धिका लागि उपयोग गर्न सहयोग हुनेगरी विवरण राख्ने व्यवस्था एनआरएनएले गर्नेछ । विज्ञ भेला तथा काठमाडौँमा हुने सम्मेलनबाट आएका निष्कर्षलाई नेपालको समृद्धिमा उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गर्दै सङ्घले दीर्घकालीन कार्यक्रमहरूको तर्जुमा गर्नेछ । क्षेत्रीय रूपमा सम्पन्न हुने विज्ञ भेलाहरू र आगामी अक्टोबरमा काठमाडांैमा हुने सम्मेलनबाट आएका निष्कर्षहरूलाई श्वेतपत्र तयार गरी नेपाल सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा एनआरएनएलाई प्रमुख साझेदार बनाउने मन्त्री अधिकारीको आग्रहलाई स्विकार्दै हामी यसका लागि सक्रिय भई सफल बनाउन हाम्रो सञ्जाललाई अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दर्छौ । संविधानमा उल्लिखित गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधानलाई सकेसम्म छिटो आवश्यक कानुन बनाएर लागु गर्न यो भेलाको सरकारलाई आग्रह छ ।

प्रतिक्रिया