अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

केन्द्रीय बैङ्कद्वारा कर्जाको ब्याजलाई अंकुश लगाउन निर्देशन

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:१८ मा प्रकाशित

काठमाडौँ, बैङ्क तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा बैङ्क तथा वित्तीय संस्थाले २ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेर ३ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १६ प्रतिशत बढेको छ । यस्तै कर्जा लगानी १९.६ प्रतिशत बढेको राष्ट्र बैङ्कले जनाएको छ । निक्षेप परिचालन भन्दा बढी कर्जा लगानी गरेपछि बजारमा लगानीयोग्य पुँजीको अभाव भई कर्जाको ब्याजदरमा बढेको छ ।

कर्जा र निक्षेपबिचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारेको छ । जसले गर्दा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत पुगेको भन्दै केन्द्रीय बैङ्कले कर्जाको ब्याजलाई अंकुश लगाउनु पर्ने बताएको छ ।

गत वैशाखमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६, ३५ र ४५.२ प्रतिशत रहेको छ । कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.१४ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६.२ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८.३, विकास बैंकहरुको १८.२ र वित्त कम्पनीहरूको ११.४ प्रतिशतले बढेको छ । वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा छ । १५.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ८०.२ प्रतिशत अर्थात् ५१ अर्ब ७६ करोड वृद्धि भई १ खर्ब १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ११.१ र ओभरड्राफ्ट कर्जा १३.६ प्रतिशत बढेको छ । त्यसै गरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.० प्रतिशतले बढेको छ ।

उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत वैशाख मसान्तमा १६ अर्ब ४७ करोड रुपैयाँ पुनरकर्जा लगानीमा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू