अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

घरधनी होस् वा सभासद् काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गरिन्छ : गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ जेठ २३ गते १९:१८ मा प्रकाशित

काठमाडौँ — ती जो सुकै होस, चाहे त्यो घरधनी होस वा सभासद् होस वा ठुलै नेता किन नहोस् । त्यसले कानुनको उल्लघन गर्छ, त्यसले राज्यलाई धोका दिन्छ भने त्यसमाथि कारबाही हुन्छ ।

गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा गृहमन्त्री रामबहादुर थापा बादलले आफूले तस्करी र गुण्डागर्दी रोक्न कुनै कसर बाँकी नराख्ने बताए। गृहमन्त्री थापाले सङ्गठित सुन तस्करीमाथीको अनुसन्धान निष्कर्षमा पुग्ने र अझै ठुला माछाहरू पनि समातिने बताए।

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले राखेको भनाइको सम्पादिनत अंश :
सुन तस्करीको सम्बन्धमा सरकारले र गृह मन्त्रालयले जुन कदम उठाएको छ त्यो हचुवाको तालमा उठाएको हैन। धेरै विचार गरेर, धेरै छानबिन गरेर र तथ्यको आधारमा अनुसन्धान अगाडि बढाइएको हो। अहिले जति कुराहरू बाहिर आएको छ, यसले के कुरा स्पष्ट पार्छ भने हामी सही दिशामै छौँ। अहिले कतिपय ठुला माछाहरू छटपटाइरहेका छन्।

– छानबिनलाई प्रभाव पार्ने र कुनै न कुनै रूपबाट तस्करहरूलाई संरक्षण गर्ने प्रयत्नहरू भइरहेको छ। जहाँसम्म कतिपय निर्दोष र ईमान्दार प्रहरीहरू सुन तस्करीको छानबिनमा परेका छन् र छानबिन त्रुटीपुर्ण छ भन्ने खालका कुराहरू पनि आइरहेका छन्। सरकारले र गृह मन्त्रालयले जुन कदम उठाएको छ त्यो हचुवाको तालमा उठाएको हैन। धेरै विचार गरेर, धेरै छानबिन गरेर र तथ्यको आधारमा अनुसन्धान अगाडी बढाइएको हो। अहिले जति कुराहरू बाहिर आएको छ, यसले के कुरा स्पष्ट पार्छ भने हामी सही दिशामै छौँ। अहिले कतिपय ठुला माछाहरू छटपटाईरहेका छन्। अब हामी भुरा माछाबाट मझौला हुँदै ठुला माछाहरूतिर पुग्न थालेका छौँ। जति जति हामी नजिक पुग्दैछौं तब ठुला माछाहरू छटपटाईरहेका छन्। यो बुझाइमा हाम्रा ठोस आधारहरू छन्। तस्करहरूलाई बचाउनका निम्ति धेरैतिरबाट धेरै किसिमका शक्तिहरू पनि लागिरहेको हामीले देखेका छौँ।

– ती ठेकेदारहरु, जो घरधनी छन्, थुप्रै सभासद्हरू पनि ठेकेदारहरु होलान्। उनीहरूप्रति गृहले कस्तो नीति अपनाउँछ भन्ने प्रश्न छ। ती ठेकेदारहरु जसले समयमा काम पुरा गर्दैनन् र राज्यको ढुकुटीको दुरुपयोग गर्छन्, आफ्नो जिम्मेवारी पुरा गर्दैनन् र जसले कन्ट्र्याक्टको अवहेलना गर्छन् भने राज्यले उनीहरूलाई कार्वाही गर्छ। त्यसलाई ठगी ठान्छ। त्यसलाई कार्वाही गर्छ। ती जो सुकै होस, चाहे त्यो घरधनी होस वा सभासद् होस वा ठुलै नेता किन नहोस्। त्यसले कानुनको उल्लघन गर्छ, त्यसले राज्यलाई धोका दिन्छ भने त्यसमाथि कार्वाही हुन्छ। अहिले उपत्यकाका ५ सय विकास निर्माणसँग सम्बन्धित परियोजनाहरू छन्। त्यसमा तीन सय भन्दा बढी कामहरू पुरा गरिएको छैन, अलपत्र गरिएको छ। राज्यको ढुकुटी, जो जनताको खुन पसिनाले बनेको छ, त्यसको दुरुपयोग भएको छ।

– विकास र समृद्धिमा ठुलो बाधा भनेको गुण्डाराज पनि छ। डनतन्त्र पनि छ। तपाईँ हामीले देखेकै छौँ, यी गुन्डा र डन पनि देश विकासमा बाधा बनिरहेका छन्। यस प्रकारका अपराधीलाई पनि निस्तेज गर्न जरुरी छ। गृहले यसबारे पनि ठोस योजना निर्माण गरेको छ र कार्यान्वयको प्रक्रियामा छ। तस्करीहरुलाई निस्तेज गर्नका निम्ति पनि हामीले ठोस कदमहरू उठाएका छौँ। सीमा वारपारका तस्करमध्ये ठुलो परिणाममा हुने तस्करी भनेको सुन तस्करी हो र यो हुन्डीसँग पनि जोडिएको छ। विदेशी मुद्रा र देशको पुँजीको संरक्षण र यसलाई पलायन गर्ने हुन्डी सुन तस्करीसंग अभिन्न रूपमा जोडिएको छ। यो माफियातन्त्रलाई तोड्ने पनि ठोस कदमहरू हामीले उठाएका छौँ। त्यस्तै गरी हामीले वैदेशिक रोजगारमा हुने अर्वौको ठगीलाई रोक्ने र निस्तेज गर्न पनि ठोस कदम उठाएका छौँ।

– अस्थिरता फैलाउने तत्वहरुको पहिचान भइसकेको छ। अस्थिरता फैलाउने तत्त्व दुई किसिमका छन्। एउटा सत्ता नै उल्टाउन खोज्ने। अहिलेको सङ्घीय लोकतान्त्रिक व्यवस्था नै जनताको सरकार होइन। यो जनताको राज्य व्यवस्था होइन भन्ने मान्यता राख्ने तत्त्व छन्। राज्य विद्रोह गर्ने र यसलाई उल्टाएर त्यसको ठाउँमा समानान्तर सरकार गठन गर्ने उद्देश्य बोक्ने तत्वहरु छन्। त्यो राजनीतिक शक्ति वा प्रवृत्ति भनौँ त्यस किसिमको अतिवादी तत्त्वले यो सङ्घीयतालाई, गणतन्त्रलाई मान्दैन, यसलाई उल्टाउनुपर्छ भन्ने मान्यता राख्छन्। जसले आफूलाई नेकपा विप्लव भन्छ। यस्तो तत्त्व स्पष्ट नै छ र परिचित नै छ। यसमा अनुसन्धान गर्नुपर्ने विषय छैन। दोस्रो तत्वहरु अलग प्रकृतिका छन्।

जसले अस्थिरता पैदा गर्न र यो देशलाई विखण्डन गराउन चाहन्छन्। छुट्टै मधेस बनाउन चाहन्छन्। त्यो तत्त्व पनि परिचित छ। खुलेआम त्यो तत्त्व हिँडिरहेको छ। मधेसको राजधानी फलानो ठाउँमा बनाउने भनेर उनीहरूले घोषणा गरेर हिँडिसके। अस्ति भारतीय प्रधानमन्त्री मोदी आउँदा पनि उनीहरूले स्वतन्त्र मधेसको ब्यानर देखाए। मधेसमा गोहित समूह वा सिके राउत वा अन्य तत्त्व ज्वालासिंह जस्ता थुप्रै सशस्त्र भूमिगत समूहहरू छन्। कतिपय त ओपन नै छन्। अर्को एउटा व्यवस्था विरोधी तत्त्व पनि छ। जसले यो देशमा फेरी हिन्दु राज्य घोषणा गर्न चाहन्छन्। कतिपय यस्ता पनि छन्, जो सन् २०२५ सम्ममा सबै मठ मन्दिरहरूलाई ध्वस्त बनाएर चर्च बनाउने भन्ने नारा लिएर हिड्नेहरु पनि हामीले देखिरहेका छौँ। यी पनि परिचित छन्। तर यी कमजोर छन् र यिनीहरूले तत्काल नियन्त्रणमै छन्। हामी यिनीहरूलाई निस्तेज गर्ने प्रक्रियामा छौँ।

प्रस्तुति : जनकराज सापकोटा, कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू