अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

४७ नयाँ उद्यमहरूको प्रदर्शनी काठमाण्डौमा सम्पन्न

बिआरटीनेपाल २०७५ जेठ २१ गते १३:५१ मा प्रकाशित

नयाँ उद्यमको विकास र दिगो वृद्घिकालागि सहकार्य भन्ने नाराका साथ नेपाल भरि छरिएर रहेका ४७ नयाँ उद्यमहरूको प्रदर्शनी काठमाण्डौमा सम्पन्न भएको छ ।

नेपाल सरकार अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइईडीआई) र निजी क्षेत्रद्वारा सञ्चालित कम्पनी अन्तरप्रेरणाले आज काठमाडौँमा ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो नव उद्यमी एक्स्पो तथा प्रदर्शनी’ आयोजना गरेका हुन् । सरकारी तथा जिजी क्षेत्रको सहकार्यमा ४७ भन्दा बढी सङ्ख्यामा नवीनतम सोच भएका युवा उद्यमीहरू तथा उनीहरूद्वारा सञ्चालित व्यवसायको सहभागिता रहको नवउद्यमी (स्टार्टअप) केन्द्रित यस किसिमको प्रदर्शनी नेपालमै पहिलो भएको समेत हाम्रो विश्वास छ ।

एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, नयाँ परिकारहरू, हस्तकला, निर्माण, स्वास्थ्यसँग सम्बन्धित ४७ वटा नयाँ उद्यमीहरूले आफ्नो उत्पादन, त्यस उत्पादनले नेपाली समाजमा पुग्ने सकारात्मक योगदान र आर्थिक सम्भावनाको बारेमा प्रस्तुत गरेका थिए । प्रदर्शनीमा उद्यमी र उद्यमशिलताको क्षेत्रमा काम गरिरहेका उद्यमी, लगानीकर्ता लगायत झन्डै ४०० जना भन्दा बढी सहभागीहरू भएका थिए ।

यस कार्यक्रमको लक्ष्य भनेको स्र्टाटअप र नव उद्यमीहरूलाई लगायतका साझेदार संस्थाहरूसँग जोड्ने र तिनीहरूको न्यनतम साध्य वस्तु (सुरुवाती उत्पादन) र योजनाहरूलाई लक्षित दर्शकसामू प्रदर्शन गर्नु हो । यो एउटा एकदिने कार्यक्रम मात्र नभई एउटा मञ्च पनि हो । आफ्नो नयाँ उत्पादनको प्रदर्शन, सम्बन्धित विषयमा काम गर्ने संस्था, व्यक्तिहरू जस्तैः लगानीकर्ता, सल्लाहकार, सम्भावित साझेदार तथा ग्राहकसँगको भेटघाट र सम्पर्क सम्बन्ध एवं अन्र्तकृयाले नव उद्यमीहरूको आत्मविश्वास बलियो हुनेछ । उनीहरूलाई आफ्नो उद्यम, बजार र सोचलाई अघि बढाउन महत्त्वपूर्ण सहयोग मिल्नेछ ।

यो एक्स्पोले सहभागी उद्यमीहरूलाई सम्बन्धित व्यवसायको बजार बुझ्ने तथा आफ्ना वस्तु तथा सेवामा ल्याउनुपर्ने सुधारका लागि सिक्ने अवसर प्रदान गर्नेछ भने अवलोकनकर्ता तथा आगन्तुकहरुलाई नेपालमा स्टार्टअप (नवउद्यम)को माहौल र स्टार्टअप इकोसिस्टम कसरी अगाडि बढ्दै छ भन्ने जानकारी प्रदान गर्नेछ भन्ने विश्वास आयोजकहरूको रहेको छ ।

आइईडीआई उद्यमी तथा उद्यमशीलता विकास तथा प्रवर्द्धनको उद्धेश्यले गठित निकाय हो भने अन्तरप्रेरणा प्रालि पनि नेपालमा नवीनतम सोच भएका उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण ‘स्टार्टअप इकोसिस्टम’ विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्धेश्यले करिब ३ वर्षदेखि सक्रिय संस्था हो ।

आइईडीआईका कार्यकारी निर्देशक श्री आनन्द बहादुर श्रेष्ठका अनुसार सरकारी र निजी क्षेत्रबिच साझेदारीमा सम्पन्न यो पहिलो एक्स्पो हो । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू अझ धेरै गर्दै जाने योजना रहेको छ ।

अन्तर प्रेरणाका प्रमुख निरज खनालका अनुसार यस्तो खालको एक्स्पोहरु र स्टार्टअपका कार्यक्रमहरू प्रादेशिक स्तरमा र अन्य जिल्लाहरूमा लाने योजना रहेकोे छ ।

दैनिक करिब १३०० नेपाली श्रमशक्ति रोजगारीका लागि विदेशीरहनुपरेको अवस्था छ अहिले । विदेशीन खोज्ने युवा जनशक्तिलाई देशमै साना तथा मझौला व्यवसाय गर्नमा प्रेरित गर्न सके यसले नवीन सोच, सिर्जनशीलता र आविष्कारमा आधारित व्यवसायहरूमार्फत गुणस्तरीय रोजगारी सिर्जना र देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ । यसैले रोजगारीका लागि विदेशीरहेका युवा जनशक्ति, जो सबैभन्दा उच्च उत्पादकत्व हुने उमेर समूहका पनि हुन्, उनीहरूलाई नेपालमै उद्यम गर्नमा प्र्रेरित गर्ने तथा शोका लागि आवश्यक सहयोग र वातावरण सिर्जना गर्नमा भूमिका निर्वाह गर्ने उद्धेश्यले हामी सक्रियरुपमा प्रयत्नशील छौँ । यो सँगै नेपाल बाहिर श्रम वा अध्ययन गरेर फर्केका युवालाई नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्न प्रतिबद्ध छौँ ।

स्वरोजगार तथा उद्यमशीलताको राष्ट्रिय लहर ल्याउनका लागि यससँग सम्बन्धित गतिविधि, नवउद्यमीहरुको प्रयत्न र यस क्षेत्रमा देखिएका सम्भावनाका सूचनाहरू देशभरका युवा जमात र नीति निर्माण तहसम्म पुग्न आवश्यक छ । यस कार्यमा संचारमाध्यमहरुको साथ, सहयोग र भूमिका अत्यन्त महत्त्वपूर्ण तथा अपरिहार्य छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू