अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

संगीतकर्मी सङ्घको महाधिवेशन शनिवार

बिआरटीनेपाल २०७५ जेठ ११ गते ०:१८ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय संगीतकर्मी सङ्घको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करिब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको सङ्घले जनाएको छ ।

यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत तथा सङ्गीतको विकास र प्रवर्द्धनमा सङ्घ क्रियाशील रहेको बताउँदै देशभरका संगीतकर्मीलाई एकताबद्ध गरी उनीहरूको अधिकारलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले रोयल्टीको व्यवस्थित अभिलेख राखी उचित वितरण गर्ने कार्य हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । संस्थाका उपाध्यक्षद्वय राजेन्द्रकुमार कार्की र उमा श्रेष्ठले कलाकार देशका महत्त्वपूर्ण अङ्ग भएको बताउँदै उनीहरूलाई समस्या परेको बेलामा राज्यका तर्फबाट हेर्नुपर्ने र उनीहरूका रचना र क्षमताको आधारमा रोयल्टी उपलब्ध गराउन माग गर्नुभयो । विसं २०६२ मा स्थापित उक्त सङ्घमा नेपाली लोकगीत, आधुनिक गीत, चलचित्रका गीतमा सङ्गीत भर्ने कलाकार आबद्ध छन् । सङ्घले हालसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय कमिटी गठन गरेको छ ।

प्रतिक्रिया