अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

बोस्टनमा साकेला कार्यक्रम सम्पन्न

सुरेश चाम्लिङ्ग, बोष्टन २०७५ जेठ ९ गते १०:१३ मा प्रकाशित

युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा मे १९,२०१८ का दिन शिक्षाको नगरी तथा पर्यटकीय बोस्टन सहरको आर्सनल पार्कमा किराँत राईहरूको साकेला चाड भव्य रूपमा सम्पन्न भएको छ । किरातीहरू जहाँ रहे पनि आफ्नो संस्कृति बचाई राख्न र उक्त संस्कृतिलाई भावी पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने हुनाले विदेशी भूमिमा पनि साकेला (भूमि पूजा) गरिएको प्रमुख अतिथिको आसनबाट बोल्दै अर्गनाइजेसनको केन्द्रीय सभापति विष्णु राईले बताउनु भयो ।

उहाँले नेपालको राईहरूको प्रतिनिधिमुलक संस्था किराँत राई यायोखाद्वारा अगाडी सारिएको किराँत प्रदेशको माग जायज भएको बताउनु हुँदै उक्त मागमा अर्गनाइजेसनको एइक्यवद्दता रहेको कुरा बताउनु भयो । विशेष अतिथिको आसनबाट बोल्नु हुँदै बोर्डका सल्लाहकार तथा एन आर एन ए अमेरिकाका पूर्व अध्यक्ष शिव कुमार राईले साकेलाको अर्थ र महत्त्व माथि प्रकाश पार्नु भएको थियो । नेपाली र अमेरिकाको राष्ट्रिय गीत सँगै भूमि पूजाबाट सुरु भएको उक्त कार्यक्रम दुई समूहबाट सिली प्रस्तुत गरिएको थियो ।

एक समूहले साकेला धुनमा र अर्को समूहले ढोल झ्याम्टाको तालमा सिली प्रस्तुत गरेका थिए । गुन्यू चोली, ढाकाको सल, सिरबन्दी, चेप्टे सुन ढुङ्ग्री बुलाकी र दौरा सुरुवाल लगायतका किराँत राई पहिरनमा सजिएका युवा युवतीहरूको सिली प्रस्तुत गर्ने जोसलाई न दर्के पानीले छेक्न सक्यो न चिसो सिरेटोले नै । ढोल झ्याम्टाको तालमय धुन र सिली प्रस्तोताहरूको सै सै ला हो सै सै ला गीत गुन्जनले दर्शकहरू मन्त्रमुग्ध भएका थिए भने उनीहरूले त्यो क्षण अमेरिकी भूमिमा नभएर नेपालको मांझ किराँतमा रहेको महसुस गरेको प्रतिक्रिया व्यक्त गरेका थिए । उक्त पहिलो समूहको कार्यक्रमको संयोजन धौलबीर राईले गर्नु भएको थियो ।

कार्यक्रमको मध्यान्तरमा शिरैमा सिरबन्दि बोलको गीतमा न्यू योर्कबाट आउनु भएका कलाकार हरू श्रीमती सजना राई र शुश्री श्यारोन राईद्वारा प्रस्तुत युगल नृत्यले दर्शकहरूलाई अत्यन्तै मनोरन्जित बनाइएको थियो । त्यस्तै कार्यक्रमको अर्को प्रमुख आकर्षण रहेको थियो साकेला धुन । किराँत राईहरूको मौलिक बाजा बिनायो मुर्चुङ्गा बाँसुरी,ढोल, झ्याम्टा र आधुनिक बाजा की बोर्ड समेतलाई समायोजन गरी तैयार गरिएको साकेला धुनले किराँत राईहरूको मौलिक सङ्गीतलाई जिवन्तता प्रदान गरेको थियो । यो धुनको परीकल्पनाकार हाल कनेक्टिकट निवासी जय राई थिए भने उनी आफैले बाँसुरी र मुर्चुङ्गा बजाएका थिए । त्यस्तै बिनायो संगीता राई, झ्याम्टा सुनिता राई र संगिता राई, ढोल ज्योज्योलुङ राई र किबोर्ड जेनिथ राईले बजाएकी थिइन । त्यस्तै धन घ्यासुंग घलेद्वारा प्रस्तुत जितेन राईको ‘उड्दै आयो हवाई जहाज’ बोलको गीतले दर्शकहरू छुट्टै स्वाद पस्कन सफल भएको थियो ।न्यु इंग्ल्याण्ड च्याप्टर सह सचिव चन्द्र राईले थुन्सेको भारी बिसाउँदै बोलको गीत प्रस्तुत भएको थियो ।

उक्त कार्यक्रममा कलाकारहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु ईङ्ग्लैण्ड लोकल च्याप्टरको अध्यक्ष मुक्ति नारायण राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको समापन गर्दै उहाँले पानी झरीको बिचमा पनि कार्यक्रमलाई सफल बनाइ दिनु हुने सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रमको संयुक्त सञ्चालन शेखर राई र सबिना चामलिंगले गर्नु भएको थियो भने स्वागत भाषण न्यु ईङ्ग्लैण्ड लोकल च्याप्टरका उपाध्यक्ष अनिता राईले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा एन आर एन न्यु हेम्प्शायरका सभापति डम्बर कडरिया,आदिवासी जनजाति महासङ्घ न्यु हेम्प्शायरको सभापति सुन्दरी गुरुङ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहेम्प्शायरका अध्यक्ष कृष्ण गिरि, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहेम्प्शायरका प्रधान सम्पादक ईश्वरी भट्ट,न्यु हेम्प्शायर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, बोस्टन तमु समाजका पूर्व अध्यक्ष सम्झना गुरुङ,बोस्टन मगर समाजका अध्यक्ष सूर्य थापा, पशुपति बौद्ध फाउण्डेशनका चियरपर्सन मिलन गुरुङ,एभरेस्ट लायन्स क्लब न्यु हेम्प्शायरका अध्यक्ष उमेश कोइराला,बुद्ध समाज न्यु हेम्प्शायरका अध्यक्ष पेमा तामाङ्ग,जनसम्पर्क समितिका केन्द्रीय सदस्य लोक लामा, जी.बि.एन.सी.तथा पशुपति बुद्ध फ़ाउण्डेशनका अध्यक्ष विष्णु मणि आचार्य,एन आर एन ए मासच्युसेट्स अध्यक्ष विष्णु कार्की र बोष्टन तामाङ समाजका अध्यक्ष मणिका लामासमेतको उपस्थिति थियो । अतिथिहरूलाई खादा लगाएर स्वागत गरिएको थियो ।

अन्तमा सहभागी सबैले साकेला नाचेर कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया